प्रहरी हबल्दार हरेरामलाई बसपार्कमा भेटिएको ८६ हजार पैसा फिर्ता

उदयपुर / ८६ हजार रुपैयाँको बिटो सडकमा भेट्टाउनुभयो भने तपाईं के गर्नुहुन्छ ? ८६ हजार रुपैयाँ खर्च गर्ने हरेकका आ–आफ्नै उपाय होलान् । तर जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी हबल्दार हरेराम यादवले भेटाएको ८६ हजार रुपैयाँको बिटो सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेर उदाहरणीय बनेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा एक कार्यक्रमको आयोजना गरी ८६ हजार रुपैयाको विटो यादवले सम्बन्धित व्यक्ति त्रियुगा नगरपालिका–३ मोतिगडा बस्दै आएका बस व्यवसायी म्याम बहादुर विकलाई हस्तान्तरण गरेका थिए ।

हवल्दार यादवले सदरमुकाम गाईघाट बजारको नयाँबसपार्क नजिकै फेला परेको पैसा सुरक्षित र इमान्दारपूर्वक जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । उक्त रकम जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसीले सम्बन्धीत ब्यक्ति त्रियुगा नगरपालिका–३ का म्यामबहादुर विकलाई हस्तान्तरण गरेका छन् ।

‘भेट्टाएको पैसा हराउने व्यक्तिलाई हस्तान्तरण गर्न पाउँदा आनन्द महसुस भएको छ’, यादवले पैसा फिर्ता गरेपछि भने, ‘भेट्टाएको पैसाले जीवन चल्दैन भनेर फिर्ता गरेका हौं । आफैंले परिश्रम गरेर परिवार चलाइरहेका छौं ।’ भेट्टाएको रकम कुनै गरिबले ऋणमा लिएको भए हराएको पिरले आत्महत्या गर्ने हो कि भन्ने डरले आफूलाई चिन्ता लागेको यादवले बताए । उनले भने– हराएको पैसाले मलाई पिरोल्न थाल्यो र मैले त्यसपछि डिएसपी र एसपीलाई जानकारी गराए ।

भेटिएको पैसाको बारेमा प्रहरीले तत्काल आप्mनो मातहत र सार्बजनिकरुपमा सूचना गरेको थियो । सूचनापछि सम्बन्धीत ब्यक्ति पत्ता लगाई रकम फिर्ता दिईएको एसपी केसीले बताए । गत आइतबार पैसा बुझेका वि.क.की श्रीमती सर्मिलाले पकेटबाट रकम खसाएकी थिईन् । हराएको पैसा माया मारिसकेको अवस्थामा फेला परेकोमा खुसी ब्यक्त गर्दै वि.क.ले इमान्दार प्रहरी हवल्दार यादवलाई धन्यवादसहित १० हजार पुरस्कार तत्काल प्रदान गरेका थिए । जनधनको सुरक्षामा खट्ने प्रहरीको यस्तो ब्यवहार विश्वास र भरोसा जगाएको विकले बताए ।
एसपी केसीले भेटिएको पैसा हवल्दार यादवले इमान्दारपूर्वक कार्यालयमा बुझाएका कारण सम्बन्धित ब्यक्तिलाई फिर्ता गर्न पाउँदा कार्यालय र सिंगो प्रहरी संगठनको प्रतिष्ठा उठाउने काम भएको बताए । यस इमान्दार कार्यले सबैलाई असल कामका लागि प्रेरित गर्ने एसपी केसीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…