प्रदेशको नामाकरण तत्काल जुर्ने अवस्था देख्दिैन : सांसद खड्का

विराटनगर / नेकपा ओखलढुंगाका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले प्रदेश १ को नाम तत्काल जुर्ने अवस्था नभएको बताएका छन् ।

विराटनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश सदस्य खड्काले भावनात्मक जोड, राजनीतिक र कानूनी जटिलताका कारण प्रदेशको नामाकरण अहिले तत्काल जुर्नेमा आफू विश्वस्त नरहेको प्रस्टाएका छन् । यी तिनै मुलभुत कुरामा एकाएक आठौं आश्चर्य भएमा मात्र नामाकरणले पूर्णता पाउने प्रदेश सभासदस्य खड्काको भनाइ छ । अहिले नामका विषयमा दल, दलभित्रका नेताहरुमा भावनात्मक एकताको खाँचो रहेको बताएका उनले सबैले आ–आफ्नो इच्छामा काम गर्दा अवस्था जटिल रहेको बताए ।

खड्काले भने, ‘यी तिन चीजलाई मिलाउने भन्दापनि उम्कने प्रवृत्ति बढ्दो छ । आफ्नो माग राख्ने आफ्नो चीज बनाउने बाहेक अरु सोच छैन । यसैकारण पनि एकाकार बन्ने र बनाउने सिलसिलामा केही सवालहरु थाती रहेकाछन् ।’ यी समस्याको हल नहुञ्जेल जोसुकैले प्रदेश १ को नाम ल्याउछु भन्नु मिथ्या मात्र हुने खड्काको भनाइ छ ।

कोरोनाभाइरसको महामारी रोकथाम नियन्त्रणका क्रममा तीन तहका सरकार एकीकृत भएर काम गर्न नसकेको बताएका उनले भने, सबै तहका सरकारले समन्वय नगरि आफु खुशी काम गर्दा जनताले सास्ती पाएको उल्लेख गरे । उनले प्रदेशेदखि संघीय सरकारसम्म विदेशबाट आएका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर पश्चिमका बासिन्दालाई घुर्मी वा हर्कपुरमा होल्डिङ क्षेत्र निर्माण गर्न आग्रह गरेपनि कतै सुनुवाई हुन नसकेको गुनासो गरे ।

यसविषयमा उनीसँगै अन्य ८ जना प्रदेश सभासदस्यहरुले प्रदेश सरकार समक्ष गत असार १४ गते माग पत्र नै पेश गरेका थिए । सोलुखुम्बु, ओखलढुंगा र खोटाङलाई विकट र हिमालपारीको जिल्लाको रुपमा चित्रण गरेका उनले भने, ‘विडम्बना हालसम्म हामीले अधि सारेको माग सम्बोधन हुन सकेको छैन । ’

प्रदेश सरकार समक्ष उनीहरुले प्रादेशिक अस्पताल, पीसीआर परिक्षणको ब्यवस्था, ओखलढुंगाको नवलपुर, लिखु नदी कोरिडोर हुदै सोलुखुम्बुको लिखु पिके गाँउपालिका जुनेवेशी हुदै सगरमाथासम्म पुग्ने सडक निर्माणको माग गरेकाछन् । प्रदेश १ का अर्थ समितिका सभापति समेत रहेका खड्काले बजेट सुदुरहिमाल पहाडतर्फ लक्षित हुन नसकेको गुनासो गरे ।
(फोटो पनि छ)

तपाईको प्रतिक्रिया

Loading…