न्यायिक समितिमा बढ्दै उजुरी

दाङ / तुलसीपुर उपमहानगरपालिका–६ की ५८ वर्षीया मैती चौधरी आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँलाई आफ्नै छोराबुहारीले विगत केही वर्षदेखि घरमा बस्न नदिएर निकै तनावमा हुनुहुन्थ्यो । उहाँ कहिले आफन्तसँग त कहिले छोरीको घरमा बस्दै आउनुभएको थियो ।

स्थानीयवासीले आफ्नै छोराबुहारीले गरेको दुव्र्यवहार देखेपछि तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा जान सल्लाह दिए । उहाँले समितिमा गएर आफ्ना सबै कुरा राख्नुभयो । छोराबुहारी दुवैलाई बोलाएर छलफल गराएपछि उनीहरु दुवैले आफूहरुबाट गल्ती भएको र अब त्यस्तो नगर्ने भनेर घरमा ल्याए । “अहिले खानलाउन पनि दिएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले अहिले घरमा नाति हेरर बस्छु, छोराबुहारीले मजदुरी काम गर्छन्, अहिले खुशी छु ।”

तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा यस आर्थिक वर्षको हालसम्म कूल ९२ उजुरी दर्ता भएका छन् । न्यायिक समितिका संयोजक तथा उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले साउनदेखि जेठ ३० गतेसम्म ९२ उजुरी आएको बताउनुभयो । उहाँका अनुसार न्यायिक समितिमा आएका उजुरीमध्ये ६६ फछ््र्योट भएका छन् भने बाँकी २६ उजुरी अध्ययनका क्रममा छन् ।

न्यायिक समितिमा आउने मुद्दामा सबैभन्दा बढी खानलाउन नदिएको, घरभाडा, ज्यालामजदुरी, जग्गा विवाद, बाटोघाटो, घरायसी झैझगडा, कुलोपानी, खेतीपाती नोक्सानीलगायतका रहेको न्यायिक समितिका सदस्य जानुका रेग्मीले जानकारी दिनुभयो । “विवाद लिएर नागरिक न्यायिक समितिमा उजुरी लिएर आउनुहुन्छ, हामीले दुवै पक्षलाई राखेर मेलमिलाप नीतिबाट मुद्दा मिलाउने गरेका छौँ, दुवै पक्ष यहाँबाट खुशी भएर जाने गर्नुहुन्छ”, संयोजक आचार्यले भन्नुभयो ।

उपमहानगरपालिकामा छुटै इजलास कक्ष, विज्ञ कर्मचारी भएका कारण आफूहरुलाई काम गर्न सजिलो भएको आचार्यले बताउनुभयो । बाँकी रहेका प्रायः सबै मुद्दा प्रक्रियागत रहेको र छिट्टै टुङ्गिने बताउनुहँुदै उपप्रमुख आचार्यले भन्नुभयो, “हामीले अत्यन्तै चुनौतीपूर्ण तथा संवेदनशील काम गर्नुपर्छ, गम्भीरताका साथ चुनौतीलाई पनि अवसर मानेर काम गरिरहेका छौँ ।” संयोजक आचार्यले न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ तथा तुलसीपुर उपमहानगरपालिकाको मेलमिलापसम्बन्धी कार्यविधि, २०७५ पनि पारित भई कार्यान्वयनमा रहेको पनि जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…