न्यायाधीशमा कोरोना देखिएपछि बन्द भएको अदालत खुलेन

विराटनगर / न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको जिल्ला अदालत मोरङको काम कारबाही बिहीबार पनि सञ्चालनमा आउन सकेन ।
न्यायाधीशमा कोरोना देखिएपछि सोमबारबाट तीन दिनका लागि अदालत बन्द गरिएको छ । अदालतका सूचना अधिकारी युवराज पौडेलले पीसीआर परीक्षणका लागि स्वाब दिइएका कर्मचारीको रिपोर्ट नआएपछि अदालतको काम कारबाही सञ्चालन हुन नसकेको बताए । उनकाअनुसार ५० जना कर्मचारीको स्वाब संकलन गरिएकोमा बिहीबारसम्ममा आठ जनाको मात्रै रिपोर्ट प्राप्त भएको छ । आठ कर्मचारीको रिपोर्ट नेगेभिट आएको उनको भनाइ छ ।

तीन कर्मचारी र एक न्यायाधीश गरेर चार जनाको स्वाब परीक्षण गरिएकोमा न्यायाधीशको रिपोर्ट सोमबार पोजेटिभ आएको थियो । अरु तीन कर्मचारीको रिपोर्ट त्यतिबेलै नेगेभिट आयो । आफूसँग सम्पर्कमा रहेका एक जना प्रहरी अधिकृतमा कोरोना देखिएपछि न्यायाधीशले पनि आइतबार स्वाब परीक्षणका लागि पठाएका थिए ।

कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो । अदालतका सूचना अधिकारी पौडेलले सोमबारबाट बन्द भएका काम कारबाही बिहीबारबाट सञ्चालनमा आउने भनिए पनि कर्मचारीको पीसीआर रिपोर्ट प्राप्त नहुँदा र विराटनगर महानगरपालिकामा लकडाउन जारी रहँदा अदालत सञ्चालनमा आउन नसकेको बताए । सबै कर्मचारीको रिपोर्ट प्राप्त भइसकेपछि अदालतको काम कारबाही कसरी अघि बढाउने भन्ने निर्णय हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया