धरानमा असुरक्षा बढेपछि स्थानीय नै जुटे प्रहरी चौकी निर्माणमा

धरान / बारम्बार अज्ञात समूहको आक्रमण बढेपछि धरान १५ सदन रोडका स्थानीयहरु आफ्नै लगानीमा अस्थायी प्रहरी चौकी निर्माणमा जुटेका छन् । धरान १५ सदन रोडमा रहेको वडा समितिको कार्यालय अगाडि बाटो हिड्ने बटुवालाई हतियार प्रयोग गरेर घाइते बनाउने कार्यले तिब्रता पाएपछि प्रहरी चौकी निर्माणका लागि समिति नै बनाएर निर्माण कार्यमा जुटेका हुन् । धरान उपमहानगरपालिकाले धरानको भानुचौकमा रहेको बसपार्क यातायातको चापका कारण साघुरो बन्दै गएपछि एक बर्ष अगाडि यसै स्थानमा रात्री सेवा बसको बसपार्क बनाएपछि यो स्थान अझ असुरक्षित बन्दै गएको थियो । असुरक्षाका महसुस गरेका सर्वसाधारणले अन्तत निर्माण कार्य शुरु गर्नका लागि शिलान्यास समेत गरिसकेका छन् गत साउन १६ गते अहिले अस्थायी प्रहरी चौकी बन्न लागेको चउरीमा धरान १५ निराजन वस्तीका डेविड परियारमाथि खुकुरी प्रहार भयो । खुकुरी प्रहारबाट सख्त भएका उनको तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरे पनि अहिले उनी हिडडुल गर्न नै सक्दैनन् ।

यसैगरी तीन हप्ता अगाडि सोही स्थानका कक्षा ९मा अध्ययनरत कृष्ण मगरलाई अज्ञात समूहले खुुकुरी प्रहार गरी घाइते बनाए । ट्युशन पढ्न गएका उनीमाथि ५÷७ जनाको अज्ञात समूहले गरेका खुकुरी प्रहारबाट खुट्टाको पैतला र फिलामा गहिरो चोट लाग्यो । उपचारपश्चात उनी ठीक भएपनि आक्रमण पश्चात साझ परेपछि उनी त्यो बाटो हिड्नै डराउछन् । यी त केही उदाहरणमात्र हुन् । हालसम्म एक दर्जन भन्दा बढी साना तथा ठूला घट्ना घटिसकेका छन् । पटक पटकको आक्रमणबाट आजित यहाका सर्वसाधारणले शान्ति सुरक्षाको लागि प्रहरीलाई समेत गुहारे । प्रहरीले केही दिन सुरक्षा दिए पनि अवस्था ज्युका त्यु रहे पछि अहिले उनीहरु दीर्घकाली शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चौकी निर्माणमा जुटेका हुन् ।

करिब १८ लाख लागतका ६ कोठे एक तले भवन निर्माणका लागि स्थानीय हिमाल दाहालको संयोजकत्वमा निर्माण समिति गठन गरेर भर्खरैमात्र भवन निर्माणका लागि शिल्यान्यास समेत गरिएको छ ।पटक पटकको आक्रमणका कारण असुरक्षित महसुस भएपछि रकम संकलन गरेर भवन निर्र्माण शुरु गरिएको निर्माण समितिका अध्यक्ष हिमाल दाहालले बताउनुभयो । उहाले धरान उपमहानगरपालिकाको केही लागत र इलाका प्रहरी कार्यालय धरानको सहयोगमा निर्माण हुन लागेको यो भवन तीन महिनाभित्रमा पूरा गर्ने बताउनुभयो ।अशान्ति बढ्दै गएपछि यो वडालाई शान्ति सुरक्षा धरानको अन्य वडा भन्दा ठूलो र जनसंख्या समेत बढी भएको यो वडामा निर्माण भएको अस्थायी प्रहरी चौकीले अन्य स्थानमा समेत शान्ति सुरक्षामा सहयोग पुग्ने धरान १५ का वडा अध्यक्ष नरेश इवारामे बताउनुभयो ।

स्थानीय सरकारले जनताको शान्ति सुरक्षाको प्रत्याभूतिका लागि जस्तोसुकै काम गर्न तयार भएको बताउदै चौकी निर्माणका लाग धरान उपमहानगरपालिकाले समेत सहयोग गर्ने धरान उपमहानगरपालिकाकी कावा प्रमुख मञ्जु भण्डारीेले बताउनुभयो ।
चौकी निर्माण पश्चात यो एरियामा रहेका सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन इलाका प्रहरी कार्यालयले सहयोग गर्ने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताउनुभयो । उहाले अस्थायी प्रहरी चौकी निर्माणपश्चात सर्वसाधारणले शान्ति सुरक्षाको महसुस गर्ने बताउनुभयो ।विगतमा त्रासमा बाच्न बाध्य सर्वसाधारण यो स्थानमा अस्थायी प्रहरी चौकी बन्ने भएपछि भने अब विगतका घट्ना नदोहोरिनेमा विश्वस्त भएका छन् । यो स्थानमा प्रहरी चौकी निर्माण सम्पन्न भएपछि धरान १५ को निराजन बस्ती, पाथीभरा लाइन, एभरेष्ट लाइन, बगरकोट लगायतका स्थानमा समेत शान्ति सुरक्षाको महसुस गर्ने अपेक्षा राखिएको छ ।

तपाईको प्रतिक्रिया