देउसी खेलेर बृद्धलाई सहयोग

तरहरा / पछिल्लो समय देउसीको नाममा चन्दा माग्ने तथा सो चन्दाबाट उठाएको रकम फोगटिया खर्च गर्ने एवम् पिकनिक जाने चलन रहिआएको छ । तरयुवा समाज तरहराका केही उर्जाशिल युवाहरुले देउसी खेलेको पैसाले तरहराका ९४ बर्षीय बृद्ध बिण्डेश्वर शर्मालाई आबश्यक सहयोग गरेका छन् । बृद्धलाई चाहिने आबश्यक सामाग्री सिरक, डस्ना,सिरानी, झुल तथा चामल र अन्य खाद्यान्न, लत्ताकपडा दिई मंगलबार युवाहरुले सहयोग गरेका हुन् । करिब १० हजार बराबरको सहयोग गरेको तरहराका उर्जाशील युवा उमेश गुरुङले बताए ।

बृद्धको अवस्था दयनीय भएकै कारण उनलाई सो सामाग्री सहयोग गरेको तथा आगामी दिनमा समेत यस्ता समाजिक कार्यहरु गर्दै जाने अर्का युवा उदयराज लिम्बुले प्रतिबद्धता जनाए । तरहराका उर्जाशिल युवा उमेश गुरुङ,उदयराज लिम्बु,विलक्सन गुरुङ,अल्पना राई लगायत एक दर्जन बढी युवाहरुले मंगलबार उनकै घरमा गई सहयोग गरेका थिए ।

मंगलबार बृद्ध बसेको घरमा सरसफाई गर्दै गर्दा शर्माको बाकसमा रु ७५ हजार पाँच सय ६५ रुपैँया समेत भेटिएको थियो । सो पैसालाई तरहराको लर्ड बुद्ध शहकारीमा छिमेकी मनोज राई र तुलसी भुजेलको नाममा खाता खोलेर शर्मालाई आबश्यक परेको समयमा रकम उपलब्ध गराउँने सर्तमा स्थानीयबासीले निर्णय समेत गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठले भने युवाहरुले समाजमै देउसीभैलोको आयोजना गरेर बृद्धलाई सहयोग गर्नु समाजकै उदाहरणीय कार्य भएको बताए । आगामी दिनमा समेत यस्ता युवाहरुलाई उदाहरणीय कार्य गर्नका निम्त्ति शुभकामना दिएका थिए ।

शर्मा अशक्त रहेका छन् । उनी सामान्य रुपमा हिँडडुल गर्न सक्दा समाजमा मागेर खाने तथा बजारको दिन मन्दिर अगाडी माग्न बस्छन् । उनको एक छोरा (सुक्रम) थिए । केही बर्ष अगाडी उनको मृत्यु भएपछि बृद्ध ऐलानी जग्गामा एक्लै बस्दै आएका छन् । बृद्ध बसेको जग्गा रेडक्रसले आफ्नो भन्दै आएको र बृद्धलाई रेडक्रसले पालनपोषण गर्नुपर्ने भन्दै स्थानीयबासीले लामो समयदेखि आरोप समेत लगाउँदै आएका छन् । तथापी सो जग्गा भने कस्को हो भन्ने बिषयमा पुष्टी भने भएको छैन ।

तपाईको प्रतिक्रिया

×