देउवा र डा. कोइरालाबीच गोप्य भेटवार्ता

कोइराला परिवारको एकताबाट उत्साहित छु : देउवा

विराटनगर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका प्रभावशाली नेता डा. शेखर कोइरालाबीच मंगलबार विहान विराटनगरमा गोप्य भेटवार्ता भएको छ ।

देउवा बसेको होटल जेनियलमा विहान लगभग २५ मिनेट दुई नेताबीच भेटवार्ता भएको हो । कोइराला परिवारमा तेस्रो पुस्ताका नेता भनेर चिनिने डा. सशांक, शेखर र नेत्रृ सुजता कोइरालाले एउटै माला पहिरिएर पार्टी भित्र परिवारका सदस्य एक भएको घोषणा गरेकै भोलीपल्ट सोमबार साँझ देउवा विराटनगर आइपुगेका थिए । राति जेनियल होटलमा बसेका देउवालाई भेट्न डा. कोइराला मंगलबार विहानै त्यहीं पुगेका थिए । कोइराला परिवारको एकता घोषणा लगत्तै भएको दुई नेताबीचको भेटलाई पार्टी भित्र विशेष महत्वका साथ हेरिएको कांग्रेसका एक नेताले बताए ।

‘विराटनगरबाटै कोइराला परिवारका नेताले एकता घोषणा गर्नु र त्यसको भोलीपल्ट देउवा विराटनगर आइपुग्नुले पार्टी भित्र एउटा तरंग ल्याएको छ,’ ती नेताले भने, ‘त्यहींमाथि कोइराला परिवारमा एकता ल्याउन विशेष भूमिका खेल्ने सुत्राधारको काम गरेका डा. शेखरसंग देउवाको गोप्य वार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।’ दुई नेताबीचको गोप्य भेटवार्ताका क्रममा कोही नेता कार्यकर्तालाई प्रवेष गर्न दिइएको थिएन ।

देउवासंगको भेटपछि कोइरालाले पार्टीकै आन्तरिक विषयमा छलफल भएको जानकारी दिए । ‘पार्टी सभापति विराटनगर आएका कारण म भेट्न गएको हुँ,’ विराटनगर स्थित कोइराला निवासमा बस्दै आएका डा. शेखरले भने, ‘हाम्रो भेटलाई कुनै अनौठो र आश्चर्य मान्नु पर्दैन ।’ उनले आगामी दिनमा पार्टीलाई कसरी एक ढिक्का बनाएर लैजाने, प्रमुख प्रतिपक्षीका रुपमा आगामी दिनमा कसरी भूमिका खेल्ने, पार्टी भित्रको गुटगत राजनीतिलाई कसरी अन्त्य गर्ने तथा भात्रृ संगठनमा देखिएका विवादलाई कसरी समाधान गर्ने लगायतका विषयमा देउवासंग छलफल भएको जानकारी दिए ।

देउवाले पनि कोइराला परिवारबीचको एकताले आत्तिएर विराटनगर आएको भनेर हल्ला मच्चाइएको भन्दै त्यसको खण्डन गरे । ‘म पार्टी कामको शीलशीलामा विराटनगर आएको हँु,’ उनले भने, ‘पार्टी भित्रकै नेताहरु एक हुँदा म आत्तिनु पर्ने कुनै कारण छैन ।’ उनले कोइराला परिवारका नेताबीचको एकताले आफू आत्तिएको नभइकन धेरै उत्साहित भएको बताए । कोइराला परिवारका नेताबीचको एकताले आगामी दिनमा विवाद रहित ढंगबाट पार्टी संचालनमा सहयोग पुग्ने र पार्टीले गति लिने विश्वास आफूले लिएको उनको भनाइ छ । देउवाले भने, ‘एउटै परिवारका तीन नेताबीचको एकताले पार्टीलाई संगठित बनाउन थप मद्धत पुग्छ ।’

कोइराला परिवारसंग कहिल्यै पनि कुनै किसिमको विवाद आफ्नो रहेको उल्लेख गर्दै उनले तीन जनाको एकताले गाउँ, नगर, क्षेत्र, जिल्ला तथा केन्द्र सम्मै पार्टी एकतामा सहयोग पुग्ने बताए । ‘पार्टी भित्र लुछाचुँडी गर्नेले कोइराला परिवारबाट सिक्नु पर्छ,’ देउवाले भने, ‘पार्टी भित्र मेलमिलाप र एकता हुँदा पार्टी अझ मजवुत भएर अघि बढ्छ ।’
वर्तमान सरकारका अघि प्रमुख प्रतिपक्षि दलको भूमिकामा कांग्रेस फितलो अवस्थामा रहेको भनाइलाई स्वीकार गरेका सभापति देउवाले भने, ‘विगतमा एमालेले गरेझै ४५ दिनसम्म सदन अवरुद्ध गर्नु राम्रो हो र ? जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहेर हामीले ठाउँठाउँमा कार्यक्रम गरिरहेका छौं ।’

उनले नेपाल विद्यार्थी संघको विवाद समाधान भइसकेको बताएका छन् । विराटनगरमा मंगलबार प्रेस यूनियनले आयोजना गरेको अन्र्तक्रियामा सभापति देउवाले नेविसंघको विवाद समाधान भइसकेको र निर्वाचित पहिलो समिति भएकाले काम गर्न मौका दिनुपर्नेमा जोड दिए । उनले मंसिरको लागि तोकिएको महासमिति बैठक पछाडि नधकेलिने कुरामा आफू ढुक्क रहेको बताए । महासमितिको बैठकबारे मिति तोकिसकिएको हुनाले अब पछाडि फर्कन नहुने देउवाको कुरा छ ।

केही समयअघि तत्कालिन फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छादारलाई एकतापछि विधान विपरित बहुमतको आधारमा उपसभापति बनाइएको भन्ने सन्दर्भमा उनले भने, ‘दुईवटा पार्टी मिलेपछिको सहमतिको कुरा हो र यो राजनीतिक निर्णय पनि हो । त्यसैले विधानमा नभएको कुरालाई पनि सहज अवतरण गराएका हौं । सहमति कुर्दाकुर्दा ढिलो भयो, त्यसैले पार्टी बहुमतको आधारमा नियुक्तीमा लागेको हो ।’

पार्टी भित्र चर्को गुट उपगुट रहेको र त्यसलाई समाधान गर्न सभापतिले जिम्मेवारी भूमिका वहन गर्न नसकेको प्रश्नमा सभापति देउवाले कांग्रेसमा रहेको आन्तरिक प्रतिस्पर्धाले नेताहरुबीचमा बोलीचाली नै बन्द गराइसकेको बताए । ‘जित र हारबीच बोलचाल नै छैन,’ उनले भने, ‘पार्टी भित्रको गुटउपगुटलाई स्वाभाविक मान्नु पर्ने बेलामा एकअर्कामा बोलचाल बन्द हुनु राम्रो सन्देश हैन ।’ पार्टी भित्र देखिएका केही असहमतिलाई भने आफूले स्वभाविक रुपमा लिएको देउवाको भनाइ छ ।

मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले पार्टी सभापति देउवा विराटनगरमा पार्टीले आयोजना गरेको प्रदेश १ स्तरिय महाधीवेशन प्रतिनिधी प्रशिक्षण भेलामा सहभागी हुन आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया