दिल्लीबाट आएका ज्वराेका बिरामीलाई अस्पतालले फर्कायो घर

इनरुवा / भारतको दिल्लीबाट फर्किएका सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ७ का एक पुरुषलाई बसोबासको व्यवस्था मिलाउन वडा कार्यालयलाई समस्या परेको छ । अन्दाजी २४ वर्षका ती व्यक्तिलाई वडा कार्यालयको समन्वयमा नेपाल भारत सीमाको जोगबनीबाट ल्याइएको थियो । जरो आएको हुँदा परिवारको आग्रहमा जोगबनीबाट एम्बुलेन्समा राखी इनरुवा अस्पताल पुर्याईएका बिरामीलाई स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमा राख्न भनि फर्काएकाले समस्या उत्पन्न भएको वडा अध्यक्ष किशोर सिङले बताए ।

सिङका अनुसार अस्पतालबाट घर फर्काइएका व्यक्तिको सम्वन्धमा छिमेकी वडावासीहरुले बिरोध जनाएपछि पूनः एम्बुलेन्समा इनरुवा लगिएको थियोे । प्रहरी प्रशासनले बिरामीलाई घरमै राख्न भन्दै पूनः फर्काएपछी बिरामी व्यक्तिको बसोबास र उपचारमा थप समस्या उत्पन्न भएको उनले बताए । जरो आएर थलिएका बिरामीलाई उनको परिवारले घरमा राख्न खोजेपनि सम्भावित जोखिम बढ्ने भन्दै छरछिमेकीले नमानेको बुझिएको छ । वडा अध्यक्षले भने, बिदेशबाट आएका व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नु पर्ने हुन्छ । त्यसमापनि जरो आएको बिरामी भएकाले थप सर्तकता अपनाउनु पर्नेमा होम क्वारेन्टाइना राख्न भनिनु दुर्भाग्यपूर्ण छ ।

क्वारेन्टाइनमा राख्न प्रहरी प्रशासनको सिफारिस आवश्यक पर्ने र अनुमती नदिइएकाले के गर्ने भन्ने अन्यौल बढाएको वडाअध्यक्षले सुनाए । इनरुवा नगरपालिकाले संचालनमा ल्याएको क्वारेन्टाइन व्यवस्थापकहरुले भने आफुहरुलाई सो विषय जानकारीमा नरहेको बताएका छन् । प्रहरी र सिडियो कार्यालय मार्फत जानकारी आएपश्चात मात्र सम्वन्धित व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिएको उनीहरुले बताएका छन् ।

भारतबाट फर्किएर आएका व्यक्ति जरो आएर अस्पताल लगिदा बिरामीलाई होम क्वारेन्टाइमा राख्न भनिएको विषयमा इनरुवा अस्पतालले बिरामीको स्याहार सुसार गर्न आवश्यक पर्ने भएकाले समेत तत्काल घरमा राख्न भनिएको बताएको छ । पीसीआर गर्न बोलाएर परीक्षण गर्ने गरी घर फर्काइएको इनरुवा अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…