दनुवार जातिको सातुवाइन पर्व सम्पन्न

 उर्लाबारी / प्रकृतिपूजक दनुवार जातिले आफ्नो महान चाड सातुवाइन (वोनचुमान) भव्यताका साथ मनाएका छन् ।  बैशाख शुक्ल पूर्णिमाको अवसरमा प्रकृतिपूजक दनुवार जातिले देवी देवता तथा इष्टदेवताः विहिवानीको पूजाआजा गरी सातुवाइन पर्व मनाएका हुन् । दनुवार जागरण समन्वय समिति क्षेत्र नं. ९ मोरङको आयोजनामा उर्लाबारी–१ लक्ष्मीझारमा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।
कार्यक्रममा दनुवार जातिको मौलिक नृत्य छलमिरधुङ, हजारमा लाखौंमा प्रस्तुत गरिएको थियो । यस्तै, नेपाल मगर संघ उर्लाबारी नगरसमितिले सोही अवसरमा मगर जातिको मौलिक नृत्य हुर्रा नाँच प्रस्तुत गरेको थियो । दनुवार जागरण समन्वय समिति क्षेत्र नं. ९ मोरङका अध्यक्ष जीतेन्द्र दनुवारको सभापतित्वमा भएको कार्यक्रम उर्लाबारी नगर विकास समिति पूर्व अध्यक्ष बैशु दनुवारको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेकपा एमाले उर्लाबारी वडा नं. अध्यक्षका उम्मेद्वार मछिन्द्र कार्की, नेकपा माओवादी केन्द्र वडा नं. १ अध्यक्षका उम्मेद्वार चेतराज श्रेष्ठ, धिमाल जाति विकास केन्द्रका केन्द्रीय अध्यक्ष रामप्रसाद धिमाल, महिला दनुवार परिषद् अध्यक्ष अञ्जना दनुवारलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सूर्य माझीले गर्नुभएको थियो ।
नेपाल सरकारद्वारा सूचिकृत आदिवासी÷जनजातिमध्ये अतिसीमान्तकृत आदिवासी÷जनजातिको समूहमा पर्ने दनुवार नेपालको तराई, भित्री मधेश र पहाडी गरी ६२ वटा जिल्लाहरूमा छरिएर बसोबास गर्दछन् । राष्ट्रिय जनगणना २०६८ अनुसार दनुवारहरूको जनसंख्या ८४,११५ रहेको छ । दनुवारहरूको आफ्नै रीतिरिवाज, संस्कार, संस्कृति, भाषा, चालचलन रहने गर्दछ । दनुवार जातिको भाषालाई ‘दनुवारी’ भनिन्छ भने जातीय पहिरनमा महिलाहरूले फरिया, चोलो, आचल, पटुकी, श्रीबन्दी, डुङ्ग्री, बुलाकी र पुरूषहरूले कुर्ता र कछाड लगाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया

Loading…