थारु युवाको रोजाइमा डकर्मी पेशा

कञ्चनपुर / घर निर्माण गर्ने सीप सिकेर दक्ष बनेका यहाँका थारु युवाको रोजाइमा डकर्मी पेशा परेको छ ।
मनग्य आम्दानी हुने भएपछि थारु युवाको रोजाईमा सो पेशा परेको हो । घर निर्माण लगायतका कार्य थारु युवाले गर्न थालेपछि भारतीय डकर्मी समेत विस्थापनमा परेका छन् । डकर्मी पेशाका लागि सीप भए पुग्ने भएकाले अधिकांश थारु युवाले उक्त पेशा अपनाएका छन् ।

डकर्मी सीप सिकेका युवाले मासिक रुपमा रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन् । घर, शौचालय, विद्यालय र स्वास्थ्य चौकी भवन निर्माणमा सीप भएका युवाले रोजगारी पाउने गरेका छन् । डकर्मी पेशामा संलग्न खुशिराम चौधरीले चाहेको जस्तो आम्दानी हुने भएकाले उक्त पेशा रोजेको बताउनुभयो ।

आठ बर्षदेखि डकर्मीको कार्य गर्दै आएका उहाँले घर बनाउनका लागि ठेक्का लिएर मासिक रुपमा रु ३० हजार बढी कमाई गर्दै आउनुभएको छ । झुपडीमा बस्दै आएका चौधरीले डकर्मी पेशाको कमाइले हाल घर घरेडी जोड्नुभएको छ । “साँझ विहानको छाक टार्नका लागि विगतमा मुस्किलले पुग्दथ्यो, हाल घर खर्च सबै राखेर बैंकमा बचत गर्दैछौं”, उहाँले भन्नुभयो ।

घरमै बेरोजगार रहेका युवा डकर्मी सम्बन्धी सीप सिक्नका लागि पहिला मजदुर बनेर कार्य गर्ने र विस्तारै निपूर्ण बन्ने गरेका छन् । परिवारसँगै बसेर कार्य गरी चाहिने पैसाको जोहो डकर्मी पेशाले धानिँदै आएकाले सन्तुष्ट रहेको विरबहादुर चौधरीले बताउनुभयो ।
अन्य समुदायका युवा बढी कमाउने लोभमा बैदेशिक रोजगारीमा जाने गरेका भए पनि थारु समुदायका अधिकांशले डकर्मी पेशालाई अपनाएको थारु अगुवा दानसिं दहितले जानकारी दिनुभयो । “स्वदेशमै काम गरेर विदेश गएका भन्दा बढी कमाई हुने भएकाले थारु युवाहरु मध्ये केही मात्रै विदेश गएका छन्”, उहाँले भन्नुभयो ।

स्वदेशमै मिहिनेत र लगन साथ कार्य गरे विदेश जानु नपर्ने अर्का डकर्मी पेशामा संलग्न हरिकृष्ण चौधरीले बताउनुभयो । दैनिक रु एक हजारमा ज्यालादारीमा काम गर्दै उहाँले सो पेशाको कमाइले पानी तान्ने विद्युतीय मोटर, पक्कि घर, शौचालय र मोटरसाइकल जोड्नुभएको छ ।

मेहनत बढी लाग्ने भए पनि कमाइ मेहनत अनुसारकै हुने भएकाले पेशालाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ । डकर्मी युवासँगै ज्यामीका रुपमा काम गर्दै आएका थारु युवाती पनि घर निर्माण गर्ने सीप सिकेर दक्ष डकर्मी बनेका छन् । घर निर्माणको कार्यमा संलग्न संगीता चौधरीले डकर्मीको कार्य गरेर मासिक रु २५ हजार बढी आम्दानी हुने गरेको बताउनुभयो । सो समुदायका जिल्लामा झण्डै चार हजार थारु युवा युवती डकर्मी पेशामा संलग्न छन् ।

शिक्षकको तलब जुटाउन समस्या

मुठ्ठिदान बाट सञ्चालनमा रहेको शुक्लाफाँटा नगरपालीका–८ बेलडाँडीमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका नीजि स्रोतका शिक्षकलाई तलब जुटाउन समस्या परेको छ । स्थानियवासीले प्रत्येक घरबाट चन्दाका रुपमा अन्न संकलन गरी बिक्री गरेर सञ्चालन गरेको विद्यालयमा अधिकांश शिक्षक नीजि स्रोतमा कार्यरत छन् । शिक्षकको तलबका लागि वार्षीक रु १२ लाख बढी खर्च लाग्ने गरेको विद्यालयका प्रधानाध्यापक गोविन्द ढाँटले बताउनुभयो । विद्यालयमा आठ शिक्षक नीजि स्रोतका छन् । आधारभूत तहका एक शिक्षक स्थायी र दुई राहतमा बाहेक अन्य शिक्षक नीजि स्रोतमा कार्यरत छन् ।

विद्यालयसँग रहेको जग्गा भाडामा दिएवाफत वार्षीक पाउने रु एक लाख, कालिका सामुदायिक वनले उपलव्ध गराएको रु एक लाख र अभिभावकबाट उठाएको रु १२ हजार मात्रै आन्तरिक स्रोतका रुपमा रहेको छ । “आन्तरिक स्रोतका रुपमा पाइएको रकमले शिक्षकलाई तलब दिन पुग्दैन”, प्रधानाध्यापक ढाँटले भन्नुभयो, “अरु रकमका लागि नगरपालीकालाई गुहारेका छौं ।”
गत आवमा वडा कार्यालयले उपलब्ध गराएको रकमले भौतिक पूर्वाधार विकास, विद्युत् जडान र पङ्खाको व्यवस्था गरिएको थियो । विद्यालयले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा पठनपाठनको कार्य समेत शुरु गरेको छ ।

नगर प्रमुख दिलबहादुर ऐरले नगरपालीका भित्र ३२ वटा सामुदायिक विद्यालय रहेकाले अबस्था हेरेर बजेट विनियोजन गरिने बताउनुभयो । सो विद्यालयमा अधिकांश जनजाती, दलित, सुकुम्बासी परिवारका गरी तीन सय बढी बालबालिका अध्ययन गर्दै आएका छन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…