तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ । ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ ।
सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो ।

टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी ३० प्रतिशत काम यो महिनाभित्रै सम्पन्न हुने निर्माणमा संलग्न हुलास कम्पनीका इन्जिनियर सुशील साहले जानकारी दिनुभयो । उहाँका अनुसार गएको माघ ४ गतेदेखि २५ जना कामदारले टेका लगाएर पुल जडान गरिरहेका छन् । जडानको कार्य सकिएपछि कन्काई मैनाचुली याक्थुङ्हाङले ढलाइको काम शुरु गर्ने जनाइएको छ ।

अढाइ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा निर्माण कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग करिब रु १० करोडको लागतमा पुलको निर्माण सम्झौता गरेका थिए ।

निर्माण सम्झौता भएको पाँच वर्षपछि बल्ल वर्षात्को समयमा काम थालिएकाले निर्माणकै क्रममा दुई वर्षअघि बाढीले पुल बगाएको थियो । बाढीले पुल बगाएर अझ निर्माण कार्य अलपत्र बनेपछि स्थानीयवासी, राजनीतिक दललगायतले चाँडो काम थाल्न दबाब दिएका थिए ।

तपाईको प्रतिक्रिया