डिजेल भर्ने क्रममा एक्साभेटरको बकेटले च्यापेर चालकको मृत्यु

विराटनगर / डिजेल भर्ने क्रममा मोरङको जहदामा एक्साभेटरको अगाडि रहेको बकेटले च्यापेर चालकको मृत्यु भएको छ ।एक्साभेटर चालकमा ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका–४ का २२ वर्षीय दीपक तामाङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार एक्साभेटर जहदा गाउँपालिका–१ भुटाहामा निर्माणाधिन सडक खन्न प्रयोग गरिँदै आएको थियो ।

डिजेल सकिएपछि केही दिनदेखि सडकमै रोकेर राखिएको एक्साभेटर चलाउनका लागि दिउँसो डिजेल भर्न खोज्दा घटना भएको प्रहरीले जनाएको छ । डिजेल भर्ने क्रममा सडक खन्न प्रयोग गरिने अगाडिको बकेटले छेउमै रहेको जेसीबीमा लगेर च्याप्दा चालक मृत्यु भएको हो । राईका अनुसार डिजेल भर्न खोज्दा आफै चलेको बकेटले छेउमै रहेको अर्को जेसीबीमा लगेर चालकलाई च्यापेको थियो ।

घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइएको केही बेरमै चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । डीएसपी राईले घटनाका बारेमा अनुसन्धान थालिएको बताए ।

तपाईको प्रतिक्रिया