ट्रक ठोक्किँदा भाँचियो विराटनगरको स्तम्भ

विराटनगर / मादक पदार्थ सेवन (मापसे) गरेका चालकले तीव्र गतिमा चलाएको ट्रक ठोक्किँदा विराटनगर महानगरपालिका–५ बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । दक्षिणतर्फ जाँदै गरेको ना ७ ख १४३७ नम्बरको खाली ट्रकले स्तम्भलाई राति ९ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । ठक्करबाट रड, सिमेन्ट र इँटा प्रयोग गरेर बनाइएको स्तम्भ भाँचिएर पूरै क्षति पुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

स्तम्भ सडकको बीचमै पल्टिए पनि कोसी लोकमार्गमा सवारी सञ्चालनमा भने कुनै अवरोध नपुगेको उनको भनाइ छ । दुर्घटना हुँदा विष्फोट भएजस्तो ठूलो आवाज आएको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । दुर्घटना गराउने ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका– ६ का २५ वर्षीय पदम ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोसी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनले मापसे गरेको पत्ता लागेको छ । डीएसपी राईका अनुुसार दुर्घटना गराउने ट्रकका चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि छैन । तीव्र गति र चालकले मापसे गरेर कुदाएका कारण नियन्त्रण गुमाउँदा स्तम्भमा ठोक्किएर ट्रक दुर्घटनामा परेको जानकारी उनले दिए । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लब अफ विराटनगरले बरकै रुखजस्तो देखिने स्तम्भ सडकको बीचमा बनाएको थियो ।

तपाईको प्रतिक्रिया