टेम्पो दुर्घटना एक जनाको मृत्यु, चार घाईते, दुईको अवस्था गम्भिर

भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बुधबार दिउँसो एक बजे हतुवागढी गाउँपालिका वडा नम्बर– ५ होम्ताङको भित्रि सडकमा दुर्घटना भएको हो । दुर्घटना सोहि गाउँपालिका वडा नम्बर –४ खैराङका मिलन राईकी ८ वर्षीया छोरी गुराँस राईको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

घोडेटारबाट होम्ताङ तर्फ जाँदै गरेको को २ ह ७६८६ नम्बरको को टेम्पो अनियन्त्रित भई सडक देखि अन्दाजी ६० मिटर तल झरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मिलन राईकै ४ वर्षीया छोरी रितु राई, २१ वर्षीया रिका राई, १२ वर्षीय अनिम राई र चालक २४ वर्षीय विजय राई घाइते भएका हुन् ।

घाइते मध्ये चालक विजय राई र ४ वर्षीया बालिका रितुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading…