जिल्ला प्रहरी कार्यालयका क्यान्टिन संचालकमा भेटियो कोरोना

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीमा चमेना गृह संचालन गर्दै आएका व्यक्तिमा कोरोना देखिएको छ । क्यािन्टन संचालन गर्दै आएका प्रहरी जवान कोरोना संक्रमित पाइएका हुन् ।

प्रहरी प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका जवान कोरोना संक्रमित भेटिए सँगै उनीसँगको सम्पर्कका आधारमा कन्ट्याक ट्रेसिङको काम थालिएको छ ।

संक्रमित प्रहरी जवान परिवार सहित बस्दै आएका व्यक्ति हुन् । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांशजसो प्रहरीहरु चिया नास्ता खाने गर्छन् ।

संक्रमित भेटिएको भनिएका व्यक्ति चिया र नास्ता बोकेर कार्यालयका फाँट सम्मै पुग्ने गरेको र सागसब्जी सहित क्यान्टिनमा आवश्यक सामान किन्न बजार पसल सम्म पुग्ने गरेको स्वयं जिप्रका भित्रका प्रहरी कर्मचारीहरु बताउछन् ।

कार्यालय भित्र कोरोना देखिएपछि थप सावधानी अपनाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख थापाका अनुसार संक्रमित सँगको पत्यक्ष सम्पर्कको आधारमा कम्तिमा ४० जनाको तत्काल स्वाब संकलन गरी परीक्षण गरिने छ ।
कार्यालयमा रहेको जनशक्ति मध्ये संक्रमितसँग सम्पर्कमा नआएकाहरुको पहिचान गरी आलोपालो ड्युटीमा खटाइने गरी तयारी थालिएको थापाले बताए ।

कार्यालय भित्र कोरोना भेटिएपछि सुरक्षाकर्मीबाटै कार्यालय सिल गरिनुपर्ने माग हुन थालेको छ । कार्यालय प्रमुख थापाले भने कार्यालय तत्काल सिल गर्नु भन्दा पहिलो चरणमा स्वाब संकलन गरिएकाहरुको नतिजा पश्चात आवश्यक निर्णय गरिने बताए ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुई दिन अघि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सहित ३० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजना कोरोना पोजेटिभ पाइएका हुन् ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार कार्यालय भित्रको कर्मचारीमा संक्रमण देखिएकाले तत्कालकालागि प्रहरीहरुको मुभमेन्ट बाहिर गराइनु हुँदैन् ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कम्तिमा पनि पहिलो चरणको स्वाब संकलनको रिपोर्ट नआएसम्म प्रहरी कर्मचारीहरुलाई कार्यालय परिषरमै सुरक्षित राखिनु पर्ने प्रसाई बताउँछन् । जसकालागि प्रहरीसँग स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको प्रसाईको भनाई छ ।

तपाईको प्रतिक्रिया