छायानाथमा पूर्वाधार अभाव

मुगु जिल्लाको तीर्थस्थल छायानाथमा विस्तारै तीर्थालु बढे पनि भौतिक पूर्वाधारको विकास नहुँदा भक्तजनलाई भने तीर्थयात्रा निकै कठिन र सकसपूर्ण बन्ने गरेको छ । विकास र प्रचारप्रसारको अभावले पछि परेको धार्मिक महत्वको छायानाथ तीर्थस्थल समुद्र सतहदेखि करीब पाँच हजार मिटरको उचाइमा छ । अरु बेला हिउँ जम्ने र अत्यन्तै चिसो हुने भएकाले जनैपूर्णिमाको अवसरमा मात्र यहाँ मेला लाग्छ ।

शिवले सतीदेवीको मृत शरीर संसार घुमाउने क्रममा छायानाथमा अन्तिम अङ्ग खसेको धार्मिक किंवदन्ती छ । फरक खाले भूबनोट, भूइँमा फुल्ने अनौठा फूल तथा ढुङ्गा, सुमेरु पर्वतलगायत छायानाथमा देखिने थुप्रै अनौठा वस्तु तथा दृश्यले त्यहाँ पुग्ने जो कोही पनि साँच्चै भगवान् भएको विश्वास गरेर फर्कन्छन् ।

आफ्नो कुल देवता शुद्ध पार्न र परिवारको कल्याणको कामना गर्न सुर्खेत, बाँके, बर्दिया, दैलेख, जाजरकोटलगायत कर्णालीका सबै जिल्लाबाट थुप्रै भक्तजन छायानाथ दर्शनका लागि आउने गर्छन् । छायानाथ पुगेपछि सर्वप्रथम नुहाएर मात्र पुजारीबाट आशीर्वाद लिनुपर्ने हुन्छ । त्यहाँ पुगेर नुहाउनेबित्तिकै अधिकांश तीर्थालुलाई शरीरमा देवता चढेर काँप्दै बर्बराउने र देवताको भाषा बोल्ने विश्वास गरिन्छ ।

कठिन वास, विकट बाटो र लेक लाग्ने समस्याजस्ता कठिनाइको पर्वाह नगरी धर्मप्रतिको अगाथ जनविश्वासका कारण महिनौँ दिनको यात्रा तय गरेर टाढाटाढाबाट तीर्थयात्री छायानाथ जाने पुजारी लक्ष्मीप्रसाद चौलागाईँले बताउनुभयो । विगत वर्षको तुलनामा सामान्य बाटो बने पनि व्यवस्थित धर्मशाला नहुँदा तीर्थयात्रीलाई रात काट्न निकै मुश्किल हुने गरेको छ ।

धामीलाई देवता चढेकाले ती सहजै उकालो उक्लिन्छन् भने सर्वसाधारणलाई लेक लागेर मन्दिरमा पुग्न पनि निकै ठूलो सास्ती खेप्नुपर्ने विश्वास गरिन्छ । चैनस्थित मूलथानबाट गाथ(घण्ट, शिवमूर्ति आदि)पुजारीको टोली अष्टमीका दिन छायानाथतिर प्रस्थान गरेर चतुर्दशीका दिन छायानाथबाट फर्किने चलन छ । प्रचारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने हो भने ओझेलमा परेको छायानाथ तीर्थस्थलमा धार्मिक पर्यटकको आगमन बढ्ने र कर्णाली प्रदेशकै आर्थिक मेरुदण्ड बन्न सक्ने बुद्धिजीवी चन्दननाथ–४, जुम्लाका राजबहादुर शाही बताउनुहुन्छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…