छाडा चाैपायाका कारण अस्तब्यस्त इनरूवा बजार : जनप्रतिनिधीदेखि प्रहरी प्रसाशन सम्म मुर्कदर्शक

 इनरुवा । जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित अन्य बजार क्षेत्रका सडकमा छाडा पशु चौपायाका कारण बजार अव्यवस्थित बन्दै गएको छ । इनरुवा नगरपालिका सहित जिल्लाको लौकही,भाणटावारी,कोशी ब्यारेज लगायतको क्षेत्रमा दिनप्रतिदिन सडकमा छाडा पशु चौपायाका कारण बजार अव्यवस्थित बन्दै गएको हो । इनरुवा नगरका छाडा पशु व्यवस्थित गर्न नसक्दा सडक छेउछाउका व्यापारी, सवारी चालक, पैदल यात्रुमात्रै होइनन् रिक्सा र सिटी चालकलाई पनि सास्ती व्यहोर्नु परेको छ ।

बजार क्षेत्रका मुख्य सडकमा छाडा चौपायाले सडक बाट आवतजावत गर्न समेत समस्या भएको स्थानीय रेनु आचार्य बताउछिन् । छाडा पशु चौपायका कारण पैदल हिँड्न समस्या भएको बताउदै उनले भनिन् छाडा पशुका कारण इनरुवा बजारको सौन्दर्य बिग्रिरहेको छ;यसतर्फ इनरुवा नगरपालिका लगायत सम्बन्धि निकायको ध्यान गएको छैन । मुख्य बजारको मुख्य चौकमा समेत गाई,गोरु,भैंसी,खसी,बाख्रा,तथा अन्य बस्तुभाउ छाडा छोडदा बाटो हिड्ने मानिस लगायत व्यवसाय गर्नेलाई समेत समस्या भएको देखिन्छ ।

बाटोमा छोडिएका चौपायाका कारण बाटो अव्यवस्थित र त्रासयुक्त हुने गरेको स्थानीय बताउँछन् । सडकमा छाडा चौपायाका सवारी दुर्घटनामा समेत वृद्धि भएको भाणटावारीका स्थानीयले बताएका छन् । सीमा प्रहरी चौकी भाणटावारीको एक तथ्यांक अनुसार भाणटावारीमा मात्र पछिल्लो एकवर्षमा छाडा पशु चौपायाका कारण अनियंत्रित भइ विभिन्न ७ वटा सवारी दुर्घटनामा भएका छन् । दुर्घटनामा पर्नेमा पाँचवटा मोटरसाइकल र दुईवटा बस रहेको छ ।

सुनसरीको भाणटावारी लौकही सडकखण्डमा सवारी साधन चलाउने चालकलाई छाडा पशुले सबभन्दा बढी सताउने गरेका छन् । बीचबाटोमै आएर सुत्दिन्छन्, सधैँजसो सवारी दुर्घटनाको खतरा रहन्छ, राजबिराज –बिराटनगर सडकखण्डमा माइक्रोबस चलाउँदै आएका शम्भु साह गुनासो गर्दै भन्छन्– चौपाया सडकमै चर्ने गरेपनि न प्रहरीले हटाएको देख्छु, न अरु कसैले नै । छाडा पशु चौपायाका कारण सडक छेउमा फलफूल र तरकारी पसल सन्चालन गर्दै आएका व्यापारीले सास्ती झेल्नु परेको छ ।

भाणटावारीमा विगत १२ वर्षदेखि ठेलामा केरा बेच्दै आएका मनोज चौधरी छाडा पशुले केरा खाइदिँदा घाटा व्यहोर्नु परिरहेको बताए । चौधरीले ग्राहक लाई बसमा केरा दिन जादा गाईबस्तुले केरा खाइदिने गरेकोले केहि दिनयता घाटा व्यहोर्नुपरेको गुनासो गरे । चोक–चोकमा तथा सडक छेउमा व्यापार गर्ने व्यापारी छाडा पशु चौपायाका कारण हैरानी व्यहोर्न बाध्य छन् । निर्वाचन भइसकेपछि बजार व्यवस्थित र सुन्दर होला भनेर हामीले सोचेका थियौँ, कोशी गाउँपालीका – ८ भाणटावारीका सन्तोष केसीले भने– पशुचौपायाका गोबरका कारण सहर थप दुर्गन्धित हुँदै गइरहेको छ ।

यसरी छाडा चौपाया हटाउन सम्बन्धित निकायले ध्यान नदिदा र स्थानीय चौपाया धनीको मनमौजीका कारण सर्वसाधारणलाई यात्रा गर्न असहज भएको देखिन्छ । एकातर्फ पशु चौपाया सुरक्षाको र अर्कोतर्फ दुर्घटनाको जिम्मेवार को ? भाणटावारीका तजमुल मन्सुरी प्रश्न गर्दै थप्छन् ;के यसरी बजार सुव्यवस्थित बन्छ र ?।

छाडा पशु चौपायाको व्यवस्थापन गर्नका लागि सरोकारवाला निकाय गम्भीर हुनेपर्ने उनको कथन छ । छाडा पशु चौपाया छोड्नेलाई कारबाही गर्न नसक्नु र छाडा छोडिएका पशुलाई व्यवस्थित गर्न नसक्नु सम्बन्धित निकायको गैरजिम्मेवार काम भएको सर्वसाधारणको आरोप छ । तर इनरुवा नगरपालिकाले भने व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेको दाबी गरेको छ । नगरमा छाडा पशु चौपाया व्यवस्थापन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इनरुवा नगरपालिकाले सहकार्य गर्दै आएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

×