खाँदबारी र तुम्लिङटारमा १० जना डेंगु संक्रमित

संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार विमानस्थल क्षेत्रमा मात्रै ६ जना डेंगु संक्रमित बिरामी भेटिएका छन् । यसअघि सदरमुकाम खाँदबारीमा १, मानेभञ्ज्याङमा १ र चैनपुरमा २ जनामा डेंगु देखा परेको थियो । यो सहित डेंगु संक्रमित विरामी १० पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए ।

तुम्लिङटारमा पहिलो पटक डेंगु देखिएको स्वास्थ्य कार्यालयका प्रमुख बाह्रकोटी बताए । त्यसको एक सातामा ६ जनामा डेंगु देखिएको हो । खाँदबारी र चैनपुरमा बिरामी नबढेपनि तुम्लिङटारमा भने एक सातामा ६ जनामा डेंगु देखिएको हो । जिल्ला अस्पतालका निमित्त प्रमुख डा. लक्ष्मण खड्काका अनुसार केही समयअघि जिल्ला अस्पतालमा चेकजाँच गर्न आएका एक जनामा डेंगुको शंका लागेर नमुना स्वास्थ्य मन्त्रालयमा पठाईएको थियो । नमुनाको आधारमा डेंगु लागेको पुष्टि भएको खड्काले बताए ।

जिल्ला स्वास्थ्यले डेंगु नियन्त्रणका लागि काम सुरु गरिसकेको बताएको छ । स्वास्थ्य कार्यालयले तुम्लिङटारमा जनचेतना तथा प्रचारप्रसार कार्यक्रम सुरु गरेको छ । केही समयअघि सदरमुकाम खाँदबारी भन्दा बाहिर धरान, विराटनगर आवातजावात गर्नेहरुलाई मात्रै डेंगु लागेको आंशका गरिएको थियो । तर अहिले स्थानीयमा समेत डेंगु देखा परेको जिल्ला अस्पतालका डा. खड्काले बताए । डेंगु संक्रमितको उपचार केहीको जिल्ला अस्पताल खाँदबारी, धरान र विराटनगरमा उपचार भइरहेको बताइएको छ । डेंगु संक्रमित रोगीलाई सुरुमा टाउको दुख्ने, सामान्य ज्वरो आउने, वान्ता हुने, पसिना आउने, हाडजोर्नी, मांशपेशी र नसाका साथै आँखाका गेडीहरु दुख्ने जस्ता भाइरलका लक्षणहरु नै देखापर्ने डा. खड्काको भनाइ छ।

तपाईको प्रतिक्रिया

Loading…