कोरोना खोपमा जनप्रतिनिधि र संचारकर्मीको सहभागिता न्यून

सुनसरी / सुनसरीमा कोरोना खोप लगाउनेमा संचारकर्मी र जनप्रतिनिधिको संख्या कम पाइएको छ । स्वास्थ्य कार्यालय सुनसरीले उपलब्ध गराएको विवरण अनुसार जिल्लामा अहिले सम्म खोप लगाउने मध्ये जनप्रतिनिधि र संचारकर्मीको संख्या भने अतिनै कम छ ।

कार्यालयले सोमबार दिउँसो सम्म प्राप्त रिपोर्ट अनुसार तयार पारेको विवरणमा जिल्लाभर जम्मा ५४ जना संचारकर्मीले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसैगरी जनप्रतिनिधि तर्फ २ सय १६ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

दोस्रो चरण अन्र्तगत थालिएको खोप अभियानमा अहिले सम्म ३ हजार ६ सय ६ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कुल लक्षित संख्याको ५० प्रतिशतले खोप लगाएका छन् ।

कार्यालयले खोप लगाउनेको संख्या क्रमशः बढ्दो क्रममा रहेको जनाएको छ । उसले सोमबारको पूर्ण विवरण सहित मंगलबार सम्मको प्रगति ६५ प्रतिशत पुग्ने अनुमान गरेको छ ।

स्वास्थ्य कार्यालय सुनसरीकी कोरोना फोकल पर्सन सृजना लिङ्थेपले जनमानसमा व्याप्त गलत धारणाका कारण खोप लगाउनेको संख्यामा कमी देखिएको बताइन् । उनले स्वयं सचेत र जिम्मेवार नागरिकलेनै खोप नलगाउँदा सर्वसाधारणमा अन्यौलता बढेको बताइन् ।

यसैबिच लिङ्थेपले खोप प्रतिको नराकात्मक धारणा चिर्नको लागि जिल्लामा छुट्टै सचेतना कार्यक्रम थाल्न लागेको बताइन् । संचारकर्मी मार्फत जनमानसमा रहेको भ्रम चिर्ने प्रयास चाल्न लागेको उनले बताइन् । सुनसरीमा पहिलो चरणमा ५ हजार ४ सय २० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए ।

 

 

तपाईको प्रतिक्रिया