कलाको संरक्षण गर्दै उपमेयर आत्मनिर्भर कार्यक्रम

इटहरी / इटहरी उपमहानगरपालिकाले पहिलो पटक उपमेयर आत्मनिर्भर कार्यक्रम संञ्चालनमा ल्याएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि पहिलो पटक परिक्षण कार्यक्रमका रुपमा यो कार्यक्रमलाई सञ्चालनमा ल्याइएको हो । उपमेयर लक्ष्मी गौतमको पहलमा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत अहिले थारु महिलाहरुलाई लोप हुने अवस्थामा पुगेको लोककला ‘कोहबर’ चित्रकला तालिम दिन थालिएको छ ।

विशेष गरी तराईका थारु समुदायको घरका भित्तामा कोरिने पौराणीक कला हो कोहवर चित्र कला । खुसी उत्साहलाई अरु समक्ष देखाउन पनि यस्ता कला उतार्ने गरिएको पाईन्छ । थारु समुदायमा हुने विवाह, भेटघाटमा सफा सुगन्ध बनाइएको आँगन, घरका भित्तामा कोहबर चित्रकला कोर्ने गरिन्छ ।
झट्ट हेर्दा मैथिली चित्रकला झै देखिने यो कोहबर चित्रकला केही फरक छ । यसका बुटा, पोतिने रगं, तौर तरिकाहरु फरक छन् । बनाईने चित्रहरु पनि केही भिन्न हुन्छन् । यिनीहरुको आफ्नै विशेषता रहेको छ ।

पछिल्लो समय बन्ने आधुनिक कंक्रिटका घरहरुले थारु समुदायको यो कला लोप हुने अवस्थामा पुगेको छ । अर्को तर्फ यो कला सिकेका महिलाहरु पनि बितेर गएका कारण सिप हस्तान्तरणमा समस्या छ । लोप हुने अवस्थामा रहेको थारु चित्रकला कोहबरलाई पुर्नजागृत गर्दै महिलाहरुलाई सोही कला मार्फत आत्मनिर्भर बनाउन प्रयास थालिएको छ ।

यो कला सिक्नका लागि विभिन्न वडाका थारु समुदायका तिन पुस्ता एकै थालोमा भेला भएका छन् । आमा,बुहारी,नातिनी, र आमा छोरी र छोरीकी छोरी तिन पुस्तामा एकै ठाउँमा भेला भएर चित्रकला सिक्न थालेका छन् ।

थारु जातिको संस्कृती संरक्षण गर्न र लोप हुने अवस्थामा पुगेको कोहबर चित्रकला व्यावसायीक बनाउँदै आउने पुस्ता सम्म पुर्याउनु पर्ने इटहरी ५ पचरुखीकी जिवन कुमारी चौधरी बताउछिन । अहिलेको थारु पुस्ता यो कलाको बारेमा त्यति जानकार छैन । उनीहरुले कहिँ कतै देखे पनि यो कसरी बनाईन्छ भनेर ज्ञान छैन । ज्ञान दिने मान्छेको पनि कमी छ । यस्तो अवस्थामा नयाँ पुस्ताले यसलाई जोगाएर लानुपर्ने थारु युवा पुनम चौधरीको भनाई छ ।

कोहबर चित्रकलाले तराईका थारु समुदायको जिवन प्रस्तुत गरिएको प्रशिक्षक तथा बरिष्ठ कलाकार विक्रम श्री बताउछन । । मैथिली कला जस्तै यस कोहबरलाई पनि बिक्री गरी रोजगारीको रुपमा विकास गर्न सकिने उनको भनाई छ । उपमहानगर भित्रबाट अहिले झण्डै ३५ जना थारु महिलालाई यो कला सिकिरहेका छन् । यो तालिमबाट सिप सिकेर निस्कने महिलाहरु यसको प्रशिक्षकको रुपमा बाहिर आउने कलाकार विक्रम श्री बताउछन ।

पहिलो पटक सुरु गरिएको उपमेयर आत्मनिर्भर कार्यक्रमले थारु महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पुगेको उपमेयर लक्ष्मी गौतमले बताइन । कलाको संरक्षण हुने, बनाइएका पेन्टिगंहरुलाई देश तथा विदेशमा विक्री गरी राम्रो आयआर्जन गर्न सकिने उनको भनाई छ । इटहरीका सबै वडाबाट छनौट गरि एक ठाँउमा यस्तो आय आर्जनको शिप सिकाउदै आएको गौतमले बताइन । उपमेयर आत्मनिर्भर कार्यक्रम मात्र नभएर अहिले उपमहानगरले बालबालिका, युवा र महिलाहरुको क्षमता अभिवृद्धिका बिभिन्न कार्यक्रम संञ्चालन गरिरहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया