कटुवालकै भरमा सूचना

लमजुङ / लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका चन्द्रबहादुर गुरुङले गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी गर्न थालेपछि गाउँवासी कान टाठो गर्दै गुरुङलाई सुन्न थाल्छन् । डाँडाबाट उनका गाउँमा हुन लागेको वा हुनेवालाको नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । उनी गाउँलेलाई सूचना दिने मान्छे अर्थात् कटुवाल हुन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दालाई सामूहिक रुपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेको छ । गाउँमा भइरहने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायतका शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् ।

गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, खानेपानीको मर्मतसम्हार, सामुदायिक वनको गोडमेल, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैँसी लेकमा लैजाने र वेँशीमा राख्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।” वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको हुने गुरुङले बतानुभयो । वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र आफूले गत मङ्सिर महीनाबाट सो जिम्मेवारी सम्हालेको कटुवाल गुरुङले बताउनुभयो । घाम्राङगाउँ मात्रै नभई आसपासका घाम्राङवेशी, घिचे, साल्मेलगायतका गाउँमा समेत गुरुङले नै खबर पु¥याउने गर्नुहुन्छ । “गाउँमा जे जस्तो खबर गर्नु परे पनि मै दौडिने हो”, गुरुङले भन्नुभयो, “गाउँमा पुगेर कतै चौतारोमा, कतै अलि अग्लो थुम्कोमा बसेर उर्दी गरेपछि सबैले थाहा पाइहाल्छन ।”

गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफू सन्तुष्ट नै भएको उहाँले भन्नुभयो । गाउँमा हुने कुनै पनि कार्यको खबर कटुवालबाटै आफूहरुले थाहा पाउने स्थानीयवासी गमबहादुर गुरुङले बताउनुभयो । कटुवालले एकै पटकमा सबैलाई खबर पु¥याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नरहने उहाँको भनाइ छ । कटुवाल कराएबापत उहाँले गाउँलेबाट सामूहिक रुपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो पाउँछन् । बर्सेनी गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै परिवार धान्दै आउनुभएको छ । कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन निर्वाह भइरहेको छ ।

गाउँ–गाउँ चहार्दै चर्को स्वरमा कराउनुपर्ने भएकाले काम अलि अप्ठारो नै भएको उहाँले बताउनुभयो । प्रविधिको विकास भएसँगै गाउँले वा वडा कार्यालयबाट हाते माइकको व्यवस्था गरेर माइकमार्फत नै खबर सुनाउन सकिनेतर्फ कसैको ध्यान गएको छैन । अहिलेसम्म दुईहात जोडेर चर्को आवाजमा कराउँदै आएको तर आफूले पनि कसैसँग माइक माग नै नगरेको उहाँ बताउनुहुन्छ । क्व्होलासोथर मात्रै नभई जिल्लाका अधिकांश गाउँमा अहिले पनि सामुदायिक सूचना प्रवाहका लागि परम्परागत ढङ्गमै कटुवालको चलन रहेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताउनुभयो । प्रभावकारी सूचना सम्प्रेषणका लागि उनीहरुलाई प्रविधिमैत्री बनाउनुपर्ने उहाँको तर्क छ ।

तपाईको प्रतिक्रिया

Loading…