एक कल फोन गर्न डाँडामा

जाजरकोट / यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टाँै हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताउनुभयो । अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिनुभयो । केन्द्रीय कार्यालयबाट स्तरोन्नतिका लागि प्राविधिक पठाएर हेरे पनि अहिलेसम्म काम हुन नसकेको जैसीले बताउनुभयो ।

भेरी नगरपालिका–६ मछाइनामा रहेको नेपाल टेलिकमको नमस्ते, स्काइको टावर र जुनिचाँदे गाउँपालिका–२ मजकोटमा रहेको स्काइको टावर कुशे गाउँपालिकाको लाताचुलीको टावरलाई स्तरोन्नति गर्ने भनिए पनि काम नहुँदा यहाँका हजारौँ स्थानीयले फोन सेवाबाट वञ्चित भएको जैसीले बताउनुभयो । चुनावका समयमा जिल्लाका सबै ठाउँमा टेलिफोन टावर निर्माण गरी जनतालाई सहजरुपमा सञ्चार सेवा पु¥याउने भनी दिइएको नारा एक वर्ष बिते पनि नारामै सीमित भएको स्थानीय पूर्णसमिर महतराले बताउनुभयो । फोनले काम नगर्दा यहाँका स्थानीय सरकारको कामसमेत प्रभावित भएका छन् । फोन, इन्टरनेट, बैंक नहुँदा जिल्लाको जुनिचाँदे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकाको कार्यालय सदरमुकामबाट सञ्चालन हुँदै आएको छ । आकाशमा बादल देखिनासाथ डाँडामा गएर फोन गर्दा गर्दै टावर जाँदा हैरान हुने गरेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।

केसीका अनुसार नमस्तेको टावर निर्माणका लागि नेपाल टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । तर कम्पनीको लापर्वाहीले टावर निर्माण अलपत्र परेको अध्यक्ष केसीको भनाइ छ । कुशे गाउँपालिकाको लाताचुलीको टावर बिग्रिएको महिनौँ बित्दा पनि यसको मर्मतमा कसैको चासो नपुगेपछि सर्वसाधारणलाई समस्या भएको छ  । नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटले प्राविधिक सर्वेक्षण सम्पन्न भएकोले अब स्तरोन्नतिका काम अगाडि बढाउने बताएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…