उर्लाबारी नगरपालिका एक साता बन्द

विराटनगर / कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि मोरङको उर्लाबारी नगरपालिकाको कार्यालय एक साताका लागि बन्द गरिएको छ ।
नगरपालिकाभित्र आस्किमबाहेकका सबै सेवा बन्द गरिएको हो । नगर प्रमुख खड्गबहादुर फागोले सार्वजनिक सूचना नै जारी गरेर नगरपालिकाको काम कारबाही एवं सेवा बुधबारबाट आगामी २८ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन् । यो अवधिमा दमकल, एम्बुलेन्स, स्वास्थ्य र सरसफाई सम्बन्धी आकस्मिक सेवा भने सूचारु रहने मेयर फागोले उल्लेख गरेका छन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, जिन्सी अधिकृतसहितका कर्मचारीमा कोरोना पुष्टि भएको छ । फागोका अनुसार सङ्क्रमण थप फैलन नदिन र नियन्त्रणमा लिन नगरपालिकासहित सबै वडा कार्यालयको सेवा एक साताका लागि बन्द गर्नुपर्ने अवस्था आएको हो ।

नगरपालिकाले सङ्क्रमितको सम्पर्कमा रहेका अरु कर्मचारी तथा सेवाग्राहीको ‘कन्ट्याक्ट ट्रेसिङ’मार्फत पीसीआर परीक्षण गराउँदै कोरोना भए÷नभएको यकिन गर्ने भएको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिम उच्च रहेको भन्दै मेयर फागोले नेपाल सरकार र नगरपालिकाबाट जारी भएका नियमको पालना गर्दै स्वास्थ्य सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया