उपमेयरले फुटाइन कार्यालयको ल्यापटप

रौतहट / विकासको योजना बनाउँदा मनोमानी ढंगले गरेको भन्दै गुजरा नगरपालिकाकी उपमेयर रौशाना खातुनले कार्यालयको ल्यापटप फुटाएकी छन् । प्राविधिक फाँटको ल्यापटप फुटाएपछि सोमबार कार्यपालिकाको आकस्मिक बैठकमा माफी माग्दै खातुनले आइन्दा यस्तो हरकत नगर्ने लिखित प्रतिबद्धता जनाइन् । उनले ल्यापटपको क्षतिपूर्ति तिर्ने बैठकलाई जानकारी गराइन् ।

कार्यपालिकाको बैठकबाट योजना छनोट भई उपभोक्ता समिति गठनको प्रक्रियामा रहेका बेला मनोपली ढंगले योजनाको इष्टमेट गर्न लागिएको भन्दै खातुन तोडफोडमा उत्रेकी हुन्।उनले आइतबार दिउँसो प्राविधिक शाखाको ल्यापटप तोडफोड र उपभोक्ता समिति गठन सम्बन्धी कागजात च्यातेकी थिइन्। उपमेयर खातुनले आवेगमा आई गलत काम गरेको र अब उप्रान्त यस्तो गल्ती नदोहोरिने लिखित प्रतिबद्धता जनाएको नगरपालिकाका मेयर शन्तलाल चौधरीले बताए। ‘आफ्नै अध्यक्षतामा बैठक बसेर हरेक योजनामा सहमति जनाउँदै हस्ताक्षर गर्ने अनि अन्तिम समयमा आएर बिरोध गर्ने र तोडफोडमा उत्रने,’ उनले भने, ‘यो सिंगो नगरपालिकालाई असफल बनाउने चाल हो। यसरी अनिर्णयको बन्दी बनाउन पाइँदैन ।

सहमति र सहकार्यबाट नगरको विकास गर्नुपर्छ।’
अघिल्लो दिन उपमेयर खातुनले कार्यालयको लेटरप्याडमा विषय लगत इष्टमेट सम्बन्धमा योजनाहरूमा चित्त नबुझेको र मनोमानी ढंगले उपभोक्ता समिति गठन गर्न लागेकाले तत्काल कुनै पनि किसिमको सम्झौता इष्टमेट नगरी रोक्का राख्न प्राविधिक र योजना शाखालाई पत्र पठाएकी थिइन्।
त्यसपछि शाखाका कर्मचारीले मेयर चौधरीलाई पत्र बारे जानकारी गराए। उपमेयर खातुनलाई पछिल्लो समय असहमति जनाउँदा नगरको विकास प्रभावित हुने भन्दै मेयर चौधरीले पत्र पठाई जवाफ मागेका थिए ।

तर पत्रको बेवास्ता गर्दै खातुनले कार्यालयका इन्जिनियर प्रवीण साहको ल्यापटप तोडफोड गरेको मेयर चौधरीले जनाए। ‘घटनामा उपमेर खातुनका साथै उनका श्रीमान् शेख बसुरदिन, छोरा शेख अनिसुर रहमान र देबर एकवाल हुसेन संलग्न छन्,’ उनले भने, ‘यो अत्यन्तै दुःखद घटना हो।’ तोडफोडमा संलग्न आफन्तलाई कार्यपालिकाको बैठकमा बोलाएर माफी माग्न लगाउने उपमेयरले जनाइन् ।

जिल्लाभरिका स्थानीयतहमा मेयर र उपमेयरबीच विवाद उत्कर्षमा छ। एकले अर्कालाई देखी सहँदैनन् । पछिल्लो समय यमुनामाई गाउँपालिकाका उपाध्यक्ष गीतादेवी साहमाथि अध्यक्ष श्रीप्रसाद मुखियाले दुर्व्यवहार गरेको घटनापछि जिल्लाभरिका स्थानीयतहका उपमेयरहरूले मेयरले अधिकार खोसेको आरोप लगाएका थिए । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थासम्बन्धी आदेश २०७४ को अधिकारसमेत प्रयोग गर्नबाट वञ्चित हुनु न्यायोचित नभएको गुनासो थियो । अधिकार माग्दा दुर्व्यवहारको सिकार हुनु परेको उनीहरूको गुनासो पोखेका छन्। गुजराका उपमेयर खातुनले पनि नगरपालिकामा आफूले पाएको अधिकार प्रयोग गर्न नपाएको दुखेसो पोखिन्। ल्यापटप तोडफोड सम्बन्धमा उनी सम्पर्कमा आउन चाहिनन् ।

तपाईको प्रतिक्रिया

Loading…