उदयपुरको रौता पोखरीमा नयाँ वर्षकाे अवसरमा भव्य मेला (फाेटाे फिचर सहित)

उदयपुर / उदयपुरको धार्मिक एवम पर्यटकिय स्थल रौता पोखरीमा नयाँ वर्ष २०७४ को अबसरमा तीन दिने रौता महोत्सव सञ्चालन भएको छ । प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यले लाग्ने गरेको मेलामा यस वर्ष भने विगतको तुलनामा अलि फरक किसिमले मेला लागेको छ ।
बैशाख १ गते शुक्रवादेखि तीन दिन सम्म लाग्ने मेलामा उदयपुर लगायत आसपासको जिल्लाबाट उल्लेख्य मात्रमा आन्तरिक पर्यटन भित्र्याउने योजना रहेको महोत्सव आयोजक समिति तथा रौता पोखरीका मुल पुरोहित भिमबहादुर मगरले जानकारी दिए । जिल्लाको धार्मिक तथा पर्यटकिय गन्तब्यको रुपमा रहेको रौता पोखरीमा दर्शन गरे आफ्नो मनोकामना पुरा हुने भएकाले पनि टाढा टाढाबाट तीथ्र यात्रीहरु आउने गरेको पुरोहित मगरको भनाई रहेको छ ।


उनका अनुसार प्रत्येक वर्ष मेला भर्न र रौतारानी मन्दिरको दर्शन गर्न आउने संख्यामा भने बृद्धि हुदै गएको बताए । सदरमुकाम गाईघाटबाट करिब ४० किलो मिटर उत्तरी भेगको साबिक आँपटार गाविस– ९ मा रौता पोखरी पर्दछ । गाईघाटबाट करिब ३ घण्टाको मोटरसाईकिल चढेर पुग्न सकिने भएकाले पनि यस वर्ष विगतको तुलनामा धेरै नै मानिसहरु त्यहाँ पुगेका छन् ।


गोलो बर्गाकार रुपमा फैलिएको रौता पोखरीको किनारमा नै रौतारानीको मन्दिर रहेको छ । जसमा परेवा र पाठी बलि दिने प्रचलन रहेको पाईन्छ । वर्षैदेखि नसुकेको रौता पोखरी जलवायु परिर्वतनका कारण केही वर्ष यता देखि भने सुक्ने गरेको पाइन्छ । लामो समय सम्म पानी नपरेर सुख्खा खरेडी परेकाले पनि पोखरीमा पानी सुनेको हो । स्थानीय मुल पुरोहितका अनुसार कहिले नसुक्ने रौता पोखरी २०५८ सालमा तत्कालिन राजा वीरेन्द्रको वंशनास भएको वर्ष सुकेको त्यो भन्दा अगाडी कहिले नसुकेको उनको भनाई थियो ।


रौता पोखरी सम्म जाने बाटो जोखिम पूर्ण भएकाले पनि सोचे अनुसारको तीथ्र यात्रीहरु आउन नसकेको स्थानीयबासीहरुको भनाई रहेको छ । गाईघाटबाट पर्यटकीय क्षेत्र रौता पोखरी सम्म मोटर बाटो पुगेको भए पनि सडकको स्तरउन्नतिको काम नहुँदा जोखिम पूर्ण यात्रा गर्नु पर्ने बाध्यता रहेको गाईघाटका भक्तिबिलास पोखरेलले बताए ।


उनका अनुसार रौता पोखरीमा स्वच्छ खानेपानीको अभाव र मेलालाई ब्यवस्थित रुपमा संचालन गर्न भने नसकेको टिप्पणी गरे । मेलामा विभिन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत गर्नुका साथै साँगितिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । रौतापोखरी नजिकै निकासमा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि होम स्टे«ले साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरिएको थियो । विगतको वर्षहरुमा मेलामा मादक पदार्थ सेवन गरेर झै झगडा हुने गरेकोमा यस वर्ष त्यसलाई मेला क्षेत्रमा निषेधित गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…