उदयपुरको ताप्ली गाउँपालिका कार्यालय भवनमा शक्तिशाली बम विस्फोट

उदयपुर / उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय ५ रुपाटारमा शनिबार राति १ः१५ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा बम विस्फोट गराएको छ भने एउटा बम विस्फोट हुन बाँकी रहेको छ ।

नागरिक सहायता कक्षमा बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए । विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थल प्रहरीले नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिए ।

यस्तै गाउँपालिकाको गेटमा एउटा बम विस्फोट हुन बाँकी रहेकोले डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरिएको एसपी दाहालले जानकारी दिए । बम विस्फोटको कसैले जिम्मा नलिएकोले अज्ञात नै रहेको एसपी दाहालले जानकारी दिए । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा पालिका केन्द्र महेन्द्र रत्न माध्यमिक विद्यालयको भवनमा भाडामा संचालनमा रहेको छ ।

यस्तै गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले बम किन र कस्ले गराएको भन्ने आफु अनभिग्य रहेको जनाएको छ । उनका अनुसार कुनै पार्टी तथा व्यक्तिगत कसैसँग रिसिवी नरहेको अध्यक्ष थापाले जानकारी दिए । उदयपुरको पालिका मध्यकै सवैभन्दा विकट पालिका ताप्ली गाउँपालिका पर्दछ ।

तपाईको प्रतिक्रिया