उत्पादनसँग जोड्दै पर्यटन विकासका लागि घरबास

पोखरा / बढ्दो शहरमुखी बसाइसराइ रोकी बाँझो जग्गामा उत्पादन गर्दै आय आर्जन गर्ने सोचका साथ कास्कीको पोखरा महानगरपालिका–२० मौजामा घरबास कार्यक्रम सञ्चालन गरिने भएको छ । नेपाल सरकारले नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा मौजालाई सूचीकृत गरेसँगै उत्साहित बनेका यहाँका स्थानीयवासीले यतिखेर चारवटा गाउँमा (साबिक मौजा गाविसका चार ठाउँ) घरबास कार्यक्रम चलाउने तयारी गरेका छन् । पोखरा महानगरपालिका–२० का अध्यक्ष सिम गुरुङका अनुसार यहाँका आँटीघर, मोहोरिया, मौजा र लामडाँडामा घरबास कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

पहिलो चरणअन्तर्गत आँटीघरमा सात देखि १० घरमा र मोहोरियामा पाँचदेखि सात घरमा घरबास सञ्चालन गरिने छ । त्यस्तै मौजामा पाँचदेखि सात घर र लामडाँडामा भने एक दुई घरमा मात्रै घरबास कार्यक्रम सञ्चालन हुनेछ । रोटरी क्लब अफ पोखरा न्युरोडले मौजालाई ‘मोडेल भिलेज’ (नमूना गाउँ) बनाउने योजना अघि बढाएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

चारवटै गाउँमा घरबासको प्रभावकारिताका लागि उत्तम गुरुङको अध्यक्षतामा सात सदस्यीय ‘मौजा होम स्टे रोटरियन भिलेज सञ्चालन समिति’ गठन गरिएको छ । प्रत्येक गाउँअन्तर्गत आँटीघरमा गङ्गा गुरुङ, मोहोरियामा दीपक गुरुङ, मौजामा नवराज गुरुङ र लामडाँडामा बाबुराम गुरुङलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । अवसरको खोजीमा शहर झर्ने क्रम बढेसँगै सुन्दर गाउँबस्ती ओझेलमा पर्न थालेको बताउँदै स्थानीयवासी यमन गुरुङले बाँझो जग्गामा उत्पादन गर्दै यहाँको पर्यटकीय सम्भावनालाई उजागर गर्न घरबास कार्यक्रमको अवधारणा अघि बढाइएको बताउनुभयो । “मौजामा कृषिजन्य उत्पादनका प्रचुर सम्भावना छन्, पर्यटकलाई स्थानीय उत्पादन चखाउँदै यहाँबाट देखिने हिमाली एवम् पहाडी मनोरम दृश्यका साथै पोखरा उपत्यकाको एक साथ अवलोकन गराउन सकिन्छ”, उहाँले भन्नुभयो । आयआर्जनका लागि शहर पस्ने तथा विदेशिएका युवालाई उत्पादन, उपयोग एवं आम्दानीसँग जोड्ने सोचले नै घरबास चलाउन लागिएको उहाँले सुनाउनुभयो ।

मौजास्थित आँटीघर झण्डै २०० वर्ष अघिको इतिहास बोकेको ठाउँ हो । गुरुङ समुदायको एक एक तले घरमा अर्को तला (स्थानीय भाषामा आँटी थप गरिएको) विस्तार गरी बनाइएको घरलाई आँटीघर भन्न थालिएको गुरुङले जानकारी दिनुभयो । आँटीघरमा २०० वर्ष पुरानो घरलाई समेत संरक्षण गरी राखिएको छ भने तत्कालीन समयको ज्वलन्त झल्को दिने गैँडाको छालाको ढाल र तरबार अझै सुरक्षित छ । पोखराको नजिक रहेर पनि विकासका दृष्टिले छायाँमा परेको मौजालाई सरकारले नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेपछि अब विकासको गति लिन्छ कि भन्ने आशा जगाएको स्थानीयवासी एवम् साबिक मौजा गाविस–१ का वडाध्यक्ष उत्तरप्रसाद गुरुङले बताउनुभयो ।

पोखराबाट जम्मा १३ किलोमिटरको दुरीमा रहेको यस ठाउँ पुग्न मणिपाल अस्पतालबाट ¥यालेचौर, घारी, विसौना, विजयपुर, आँटीघर, मोहोरिया, मौजा हुँदै लामडाँडा पुग्न सकिन्छ । त्यस्तै अर्को बाटो काहुँखोला हुँदै गहतेडाँडा, सानी खोला हुँदै लामडाँडा पुग्न सकिन्छ । महानगरभित्रै भएर पनि सबै बाटो कच्ची भएको हुँदा तत्काल सडकको स्तरोन्नति आवश्यक भएको उत्तरप्रसाद गुरुङले बताउनुभयो । घरबास सञ्चालन गर्न लागिएका चारवटै गाउँका घर एकनासका छन् । उत्पादनमा जोड दिँदै पर्यटकलाई यहीँ उत्पादित जैविक उत्पादन खुवाउने लक्ष्य राखिएको स्थानीयवासी बताउँछन् । गाउँबस्ती खाली हुँदै गर्दा प्रचलित संस्कृति पनि लोप हुँदै गएकोले घरबास सञ्चालनसँगै ती संस्कृतिको पुनरावृत्ति गर्ने सोच राखिएको स्थानीयले बताए ।

हिमाल, पहाडका रमणीय दृश्य हेर्न सकिने पुरानो गाउँबस्तीमा घरबास कार्यक्रमप्रति आकर्षण बढ्दै गए पनि त्यसको उचित एवम् दीर्घकालीन व्यवस्थापन महत्वपूर्ण विषय भएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो ।
“बढ्दो बसाइसराइका कारण गाउँमा जनशक्तिको अभाव यतिखेर गम्भीर समस्याका रूपमा देखापरेको छ,” उहाँले भन्नुभयो, “आउने पर्यटकलाई गाउँकै संस्कृति एवं जैविक उत्पादन खुवाउन सकिँदैन भने घरबास कार्यक्रमले खासै अर्थ राख्न सक्दैन ।”
स्थानीयलाई उत्पादनसँग जोड्दै घरबासलाई आयआर्जनको महत्वपूर्ण माध्यम बनाउने सोच राखिएको उल्लेख गर्दै ‘आँटीघर होम स्टे’की संयोजक गङ्गा गुरुङले धेरै चुनौती रहे पनि ती चुनौती पार गर्दै अघि बढ्ने सोच राखिएको बताउनुभयो । पछिल्लो समयमा घरबास कार्यक्रम सञ्चालनमा विभिन्न स्थानमा स्थानीयको जागरुकता बढिरहेको ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।

“घरबास सञ्चालन हुनु मात्रै ठूलो कुरा होइन, पर्यटकलाई प्रदान गरिने आतिथ्यता एवं उनीहरूलाई खुवाइने खाद्यवस्तु आदिले महत्वपूर्ण प्रभाव पार्दछ”, पहारीले भन्नुभयो, “सञ्चालनको अवस्था, प्रदान गरिएको सेवा सुविधा आदिका आधारमा सञ्चालित घरबासलाई वर्गीकरण गनुपर्ने देखिएको छ ।”

तपाईको प्रतिक्रिया