इनरुवा अस्पताल सुधार्न सांसदको निर्देशन

इनरुवा / इनरुवा अस्पतालमा देखिएको समस्या र बेथिति अन्त्य गर्न सांसद सहितको टोलीले निर्देशन दिएको छ । संघीय सांसद सीताराम मेहता सहित अस्पताल पुगेको टोलीले स्वास्थ्य सेवा प्रति सेवाग्राहीको विश्वास गुम्दो अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरेको छ ।

एकपछि अर्को समस्या देखापर्दा अस्पताल प्रतिको आम धारणामा परिवर्तन आउने भन्दै देखिएका सबै समस्या समाधान गर्न अस्पताल प्रशासनलाई उक्त टोलीले निर्देशन दिएको हो । मेसु सहित प्रशासन शाखाका कर्मचारी लागयतलाई डाकेर अस्पताल व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन एक महिने अल्टिमेटम सहितको निर्देशन दिइएको छ । अस्पताल बिकास समितिका अध्यक्ष गोपालराज भण्डारी लगायतको उपस्थितिमा सांसद मेहताले इनरुवा अस्पतालका मेसु डा.सन्तोष राई र प्रशासन प्रमुख उमेश गौतम सहितका फाँट प्रमुखहरुलाई भेला पारी निर्देशन दिएका हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य मेहताले आफ्नो क्षेत्र भित्रको अस्पताल भएकाले त्यहाँ भित्र मौलाएको बेतिथि प्रति ध्यानाकर्षण भएको भन्दै अस्पताल पुगेर सुधारका लागि निर्देशन दिएको बताए । मेहताले कर्मचारीको मनोमानीसँगै अस्पतालको ड्युटी समयमा डाक्टर नभेटिने, सेवाग्राहीले भरपर्दो सेवा पाउन नसक्नुका साथै औषधी उपलब्ध नहुने र बिमा कार्यक्रम निस्प्रभावी भएको जस्ता विषय प्रति ध्यानाकर्षण भएको बताए । उनले व्यक्तिगत स्वार्थमा लिप्त कर्मचारीलाई कार्वाहीको दायरमा ल्याउने ठोस योजना सहितको दीर्घकालिन समाधान निकाल्न समेत अस्पताल प्रशासनलाई भनेका छन् । तलब भत्ता लगायतका शिर्र्षकमा भ्रष्टाचार गरेको विषय बाहिरिएकाले सत्यतथ्य बाहिर ल्याउन समेत उनले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…