इटहरीमा सय वेडको आइसोलेसन संचालन

इटहरी / इटहरीमा भोली (असोज ५) गते देखि सय वेडको आइसोलेसन संचालन हुने भएको छ । कोभिड रोकथाम तथा नियन्त्रण मुल समितिका संयोजक नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सांसदहरु सर्वध्वज साँवा र लिलम वस्नेत तथा प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रतिनिधि,सहयोगि कार्यालय संघ सस्थाका प्रतिनिधि सहित वैठक वसेको हो ।

वैठकमा प्रदेश साँसदहरु सर्वध्वज साँवा र लिलम वस्नेतले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मा र स्वास्थ्य महाशाखा प्रमुख चौधरीलाई आइसोलेसनको चावी र पिपिइ हस्तान्तरण गरे । इटहरी उपमहानगरको कार्यपालिका वैठकले आइसोलेसन संचालनको जिम्मेवारी पनि भूपेन्द्र वराल संयोजकत्वको कोभिड रोकथाम तथा नियन्त्रण तथा ब्यवस्थापन उपसमितिलाई दिइसकेको छ । उपसमिति संयोजक भूपेन्द्र वरालका अनुसार इटहरी रंगशालामा १६ वटा शौचालय,४ वटा वाथरुम,२ वटा लुगाधुने ठाँउ सहितको आइसोलेसन निर्माण गरिएको छ ।

लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा वाइफाई र सिसिटिभी जडान गरिएको छ । खानेपानी र विद्युतको उचित प्रवन्ध गरिएको छ । त्यहाँ ८ जना स्वास्थ्यकर्मी र ३ जना सफाइकर्मी खटिने छन । सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । आइसोलेसनमा शारीरिक ब्यायाम, योगा, काउन्सिलिङको ब्यवस्था गरिने छ । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रकम सहयोग गरेको थियो । विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी, इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ सस्था तथा ब्यक्तिको सहयोगमा उपमहानगरले आइसोलेसन निर्माण र सञ्चालन गर्न लागेको हो । संचालनका लागि ठूलो खर्च लाग्ने भएकाले सहयोगका लागि उपसमितिले आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया