इटहरीका दुई युवा विराटनगरबाट लागुऔषधसहित पक्राउ

विराटनगर / सुनसरीको इटहरीका दुई युवा भारतको जोगवनीदेखि लागुऔषध लिएर आउँदै गर्दा विराटनगरबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरीले नेपाल–भारत सीमानजिक विराटनगर महानगरपालिका–१६ मुसहरी टोलबाट इटहरी उपमहानगरपालिका–४ सङ्गीत चोकका २४ वर्षीय असिम बस्नेत र इटहरी–५ कलङ्की चोकका ३२ वर्षीय पोष्टकुमार विश्वकर्मालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार भारतबाट नेपालतिर आउँदै गरेको अवस्थामा उनीहरु दुवै जना बिहीबार राति १०ः३० बजेतिर पक्राउ परेका हुन् ।

को २५ प २५५५ नम्बरको स्कुटरमा सवार रहेका उनीहरुलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कम्मरमाथिको भागमा टेपले बाँधेर ल्याएको अवस्थामा लागुऔषध फेला परेको जानकारी उनले दिए । स्कुटरको पछाडि सवार रहेका विश्वकर्माको शरीरबाट लागुऔषध बरामद भएको पौडेलले बताए । उनका अनुसार डाइजेल्याब, लुपिजेसिक, फेनारगन र एभिल नामक लागुऔषध ३०÷३० एम्पुल बरामद भएको छ । त्यस्तै लागुऔषध डाइलेक्स डीसी र नाइट्रोसन ट्याब्लेट पनि बरामद भएको पौडेलले बताए । स्कुटर र लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय रानीले दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कोरोना नियन्त्रणमा सुरक्षाकर्मी व्यस्त रहेको मौका छोपेर लागुऔषधको ओसारपसार लगायतका अरु पनि अवैध गतिविधी गर्ने गिरोह सक्रिय भएको हुनसक्ने बताए । यस्तो गिरोहलाई नियन्त्रणमा लिएर नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उनको भनाइ छ । कोरोनाका कारण अत्यन्तै प्रभावित बनेको मुलुक भारतसँग आवतजावत गर्ने नेपालसँगको खुला सीमा नाकामा सुरक्षा कडाई जारी छ । कोरोना महामारीमा भारततिर जानु आफ्नै लागि घातक हुने एसपी खड्काले बताए । यस्तो बेला कोरोना सङ्क्रमणबाट बच्न भारततिर आवतजावत नगरिकन सुरक्षित तरिकाले सावधानी अपनाउँदै बस्नुपर्ने सुझाव उनको छ । ‘कोरोनाको विषम परिस्थितिसँग भारत संघर्षरत छ । विश्वका अन्य मुलुकमा भन्दा दैनिक थपिने र मृत्यु हुने संक्रमित संख्या भारतमा अत्याधिक धेरै रहेको छ,’ एसपी खड्काले भने । अवैध धन्दा चलाउने वा आउजाउ गर्ने नाममा भारतबाट संक्रमण भित्रिएर अवस्था झन् जर्जर बन्नेतर्फ सबैले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

भारततिर हुने अवैध आवतजावत रोक्नलाई विशेष ढङ्गले कडाई थाल्दै सीमा क्षेत्रमा सशस्त्रको टोलीले २४ घण्टा नै निगरानी बढाइरहेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले बताए । ‘कोरोनाको कठिन परिस्थिति भोगिरहेको भारततिर आवतजावत गर्नु आफैलाई सङ्क्रमण निम्त्याउनु हो भन्ने सबैले बुझ्नुपर्छ,’ उनले भने, ‘नत्र अवस्था निक्कै खतरनाक हुनसक्ने आंकलन गरेर सशस्त्रले सीमामा सक्रियता बढाएको छ ।’कोरोनाको महासङ्कटका बेला दुई देशीय सिमानामा कुनै पनि गतिविधी हुन नदिइने स्पष्ट पार्दै डीआईजी दाहालले गलत गर्ने र नियम उल्लंघन गर्ने सबैलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीसँग समन्वय गर्दै कारबाहीको दायरामा ल्याउन विशेष निर्देशन पनि दिएका छन् । ‘कोरोनाको व्यापक फैलावटले अवस्था निक्कै जर्जर बनिरहेको छ । संक्रमण नै भइसके पनि जीवन रहन्छ कि रहँदैन भन्ने यकिन छैन,’ दाहालले भने, ‘त्यही भएकाले भारततिर आउजाउ गर्नेभन्दा पनि बाँच्नका लागि बेलैमा सचेत भएर हामी सबैले सावधानी अपनाउनू उत्तम हुन्छ । कुनै अवैध गतिविधी भइरहेको थाहा पाएमा तत्काल सुरक्षाकर्मीलाई जानकारी दिनु राम्रो हुन्छ ।’

तपाईको प्रतिक्रिया