आमा समूहले बनाए सामुदायिक भवन


गलकोट / आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण भएको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सायकोटस्थित सिर्जनशील आमा समूहको सक्रियतामा रकम सङ्कलन गरी सामुदायिक भवन निर्माण गरिएको आमा समूहले बताएको छ ।

समुदायिक गतिविधि गर्न तथा आमा समूहद्वारा सञ्चालित भाँडाकुडालगायतका सामग्री राख्नको लागि सामुदायिक भवन निर्माण गरिएको हो । ‘‘हामीलाई सामुदायका हरेक क्रियाकलाप गर्दा खुला आकाशमुनि गर्नुपर्ने थियो,’’ आमा समूहकी अध्यक्ष डिलकुमारी कार्कीले भन्नुभयो, “व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट भवन निर्माण सम्पन्न भएपछि समुदायलाई सहज भएको छ ।”

दुई कोठा र एक शौचालयसहितको उक्त भवन रु ६ लाखको लागतमा निर्माण गरिएको हो । भवनलाई आमा समूहको पहलमा स्थानीयवासीद्वारा सङ्कलित रु दुई लाख १५ हजार, जिल्ला समन्वय समितिको रु एक लाख, पूर्व राज्यमन्त्री चम्पादेवी खड्काको रु ९० हजार, सिर्जनशील आमा समूहको रु ५५ हजार, महिला सञ्जाल सिगानाको रु ३४ हजार, बुछुङ सल्लेरी सामुदायिक बनको रु २५ हजार, जुकेपानी सामुदायिक वनको रु १२ हजार ५०० र स्थानीवासीको रु ५० हजार बराबरको श्रमदानमा उक्त भवन निर्माण गरिएको स्थानीय समाजसेवी रनबहादुर खड्काले बताउनुभयो ।
रासस

तपाईको प्रतिक्रिया

Loading…