आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो

पर्सा / वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसिपी)को मुख्य भवनमा चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । हस्तान्तरण भएको तीन महिना नपुग्दै भवनको छत चर्किएर वर्षाको पानी चुहिन थालेपछि काम गर्न कर्मचारीलाई समस्या भएको हो । भवन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी केएस स्फटनेट सोलुशन प्रालिले गुणस्तरीय निर्माण नगरेको कारण आइसिपीको मुख्य भवन र गोदाम सामान्य वर्षामै चुहिन थालेकोे भन्सारका कर्मचारीले गुनासो गरेका छन् ।

चार÷पाँच दिन अगाडि भएको सामान्य वर्षा हुँदा मुख्य भवन र गोदाममा पानी चुहिएको हो । मुख्य भवन र गोदाममा पानी चुहिन थालेपछि काम गर्न र मालसामान भण्डारण गर्न समस्या भएको आइसिपी व्यवस्थापनको जिम्मा पाएको इटरमोडेल आइसिपी कार्यालयका प्रमुख हेमेन्द्र मोहन शाहीले जानकारी दिनुभयो । उहाँले अहिले देखिएको समस्यालाई समाधान गर्न केएस स्फटनेट सोलुशन प्रालिका कर्मचारीलाई भनिए पनि समस्या यथावत् नै रहेको बताउनुभयो ।

यसै विषयमा सोलुशन प्रालिका परियोजना प्रबन्धक सुभाषचन्द्र दाससँग बुझ्दा उहाँले भवनको छत र गोदाममा देखिएका समस्यालाई चाँडै समाधान गरिने बताउनुभयो । निर्माण कार्य गुणस्तरीय भएपनि परियोजनाको डिजाइनमा कमजोरी रहेका कारण पानी चुहिने समस्या देखिएको उहाँले दाबी गर्नुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया