अरुण नदीमा पक्की पुल नहुँदा समस्या

संखुवासभा / संखुवासभाबाट बग्ने सबैभन्दा ठूलो अरुण नदिमा पक्की पुल नहुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । संखुवासभाको हेलुवाबेसी र भोजपुरको बम्लिङटारको सिमानाबाट बग्ने अरुणमा पक्की पुल नहुँदा समस्या भएको हो । उक्त स्थानमा झोलुंगे पुलको सहायतामा मानिसहरु आवत जावत गर्छन् ।

तर सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका सामानहरु भरिया र खच्चडको सहायतामा तार्नुको विकल्प छैन । ढुवानी गरिएका सामान पुल वारीपारी गर्न भरियाहरुलाई महंगो मूल्य चुकाउनु त परेको छ नै मनपरी भाडाले ढाड सेकेको बुम्लिङटारका होटल व्यवसायि तारा थापा बताउँछिन् । उनी भन्छन्, पक्की पुल हुने हो भने आँगनमा सामान आइ पुग्ने थियो तर पुल तार्न मात्र खाँदबारी देखि हेलुवाबेसीसम्मको डबल भाडा तिर्नु पर्ने बाध्यता छ ।

उनले थपे त्यो पनि कहिले काँही भरिया नपाइने र खच्चड समेत नपाउँदा बाटैमा सामान अलपत्र पर्ने गरेको छ ।झोलुंगे पुलको वारी पारी सडक समेत जोडिएको छ । खाँदबारीबाट हेलुवाबेशीसम्म नियमित गाडी सञ्चालनमा छ भने बुम्लिङटार भोजपुरमा पनि गाडी सञ्चालनमा छ । तर पक्की पुल नहुँदा खाँदबारीबाट भोजपुर हिँडेका यात्रुहरु पुल तरेर बुम्लिङटारबाट अर्को गाडीको यात्रा गर्नु पर्ने बाध्यता छ । कहिँलेकाही हेलुवाबेशी पुगेका यात्रु बुम्लिङटारमा गाडी नपाउँदा अलपत्र पर्छन भने कहिले भोजपुरबाट आएकाहरु हेलुवाबेशीमा गाडी नहुँदा अलपत्र पर्ने गरेका छन ।

 पुल बनाउने कुरामा योजना नै नहुँदा अस्थायि विकल्पको रुपमा फेरी सञ्चालनमा ल्याउने प्रक्रिया भइरहेको साल्पा शिलिछो गाउँपालिका १ का वडाध्यक्ष गणेश बुढाथोकीले बताए । उनले भने फेरी ल्याउने प्रक्रिया सुरु भएकाले चाँडै समस्याको समाधान हुनेछ । फेरी सञ्चालनका लागि आप्mनो वडा र खाँदबारी नगरपालिका ११ का वडा अध्यक्षबिच छलफल भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

Loading…