अनिश्चितकालका लागि साप्ताहिक हाटबजार बन्द

खस्यौली / रुपन्देहीको सैनामैना नगरपालिकामा आजदेखि अनिश्चितकालका लागि साप्ताहिक हाजबजार बन्द गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सर्तकता अपनाउनका लागि नगरपालिकामा पनि साप्ताहिक हाजबजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोरोना भाइरसबाट सतर्कता अपनाउन साप्ताहिक हाटबजार बन्द गर्ने, नगरमा कुनै पनि भेला, गोष्ठी, सेमिनार, सभासम्मेलन नगर्ने निर्णय गरिएको पौडेलले बताउनुभयो । नगरपालिकाका रन्यौरा, मुर्गिया, सालझण्डी, कलौनी, रानीबगियालगायतका ठाउँमा हाटबजार लाग्दै आएको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईईको तयारीमा रहेका विद्यार्थीलाई दैनिकरूपमा कार्यतालिका बनाएर घर–घरमा पुग्न विद्यालयलाई निर्देशन दिइनेसमेत निर्णय भएको नगरपालिकाले जनाएको छ । भाइरस सङ्क्रमणबाट सचेत रहन र सर्तकता अपनाउन यसअघि नै पर्रोहा स्वास्थ्य चौकी मुर्गियाका डा प्रकाश खरेलको संयोजकत्वमा नौ सदस्यीय (आरआरटी) समिति चयन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…