आकाशिँदो सुन : किन बढेको बढ्यै छ मूल्य?के भन्छन बिज्ञ ?

एजेन्सी । शुक्रबार नेपाली ग्राहकले ऐतिहासिक मूल्यमा सुन खरिद गरे। उनीहरूले १ तोलाका लागि १ लाख ६१ हजार ३ सय रुपैयाँ खर्च गरे। यो मूल्य नेपालमा सुन कारोबार भएयताकै उच्च हो।पछिल्लो समय सुनले दिनहुँजसो उच्च मूल्यको कीर्तिमान बनाउँदै आएको छ। खासगरी गत भदौयता सुनको मूल्यको ‘ग्राफ’ उकालिँदो छ। 

भदौ २ गते १ लाख ५२ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भएको सुन ३१ गते आइपुग्दा १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसपछि असोजको १ गते केही घटेर १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन १८ गते आइपुग्दा १ लाख ६१ हजार ३०० पुगेको हो। 

५ वर्षअघि अर्थात् २०७७ असोज १ गते सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ थियो भने सोही महिनाको अन्तिम दिन केही घटेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसको अर्को वर्ष अर्थात् ०७८ असोज सुरु हुँदा ८९ हजार १ सय र सोही महिनाको अन्तिम कारोबार दिन (२५ गते) ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। 

०७९ असोज सुरु हुँदा ९१ हजार ८ सय र अन्तिम कारोबार दिन (३१ गते) ९३ हजार ३ सय रुपैयाँ थियो। ०८० असोज १ मा अर्थात् एक वर्षअघि आइपुग्दा भने सुनको मूल्य बढ्न सुरु भएको देखिन्छ। १ गते १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सो महिनाको अन्तिम कारोबार दिन (३० गते) १ लाख ११ हजार ९ सय रुपैयाँ पुगेको थियो। यो वर्ष असोज सकिन बाँकी नै छ। तर मूल्यवृद्धिको लय हेर्दा अझै माथि जान सक्ने देखिन्छ। 

किन बढ्यो सुनको मूल्य?
सुनको मूल्यवृद्धिमा विविध कारण जोडिन्छन्। नेपालको हकमा सुनको मूल्य निर्धारण नेपाल सुनचाँदी व्यवसायी महासंघले गर्छ। यसमा पहिलो पक्ष अन्तर्राष्ट्रिय मूल्य हो भने भन्सार दर, बैंकको लागत, विदेशी मुद्राको मूल्य, व्यवसायीको नाफाजस्ता अन्य पक्षहरू जोडिन्छन्। 

वर्तमान मूल्यवृद्धिसँग विश्वबजार मूल्य नै प्रमुख कारण मानिएको छ। नेपालमा सुनको मूल्यवृद्धिमा अन्तर्राष्ट्रिय बजार मूल्यको योगदान छ। विश्वबजारमै अहिले सुनको मूल्य बढिरहेको छ।वर्ल्ड गोल्ड काउन्सिल (डब्लुजीसी)का अनुसार शुक्रबार सुनको मूल्य २६५० अमेरिकी डलर प्रतिऔँस मूल्यमा काराेबार भएको छ। यसअघि अघिल्लो शुक्रबार सुनको मूल्य २६६३.७५ प्रतिऔँस अमेरिकी डलर पुगेको थियो। जुन विश्वबजारमा हालसम्मकै उच्च हो। 

अन्तर्राष्ट्रिय बजारमा ५ वर्षअघि अर्थात् २०१९ अक्टोबर ४ मा १४९९.१५ अमेरिकी डलर प्रतिऔँसमा सुनको कारोबार भएको काउन्सिलको तथ्यांक छ। त्यसयता हालसम्म विश्वबजारमा सुनको मूल्य ११५०.८५ अमेरिकी डलरले बढेको छ।सन् २०२३ को अन्तिमदेखि यता विश्वबजारमा सुनको मूल्य आकाशिँदो छ। 

विश्वमा सुनको मूल्य घटबढमा विश्वव्यापी माग, लगानी, उत्पादन, केन्द्रीय बैंकहरूको सञ्चिति र अमेरिकी डलरको मूल्यले योगदान गरिरहेका हुन्छन्। खासगरी कोभिड महामारीपछि महंगी र डलरको मूल्यले सुनको मूल्यमा प्रभाव पारेको छ।

बढ्दो माग 
मानिसले लगाउने बहुमूल्य गरगहनामा सुनकै अधिकतम प्रयोग हुने गर्छ। यसले बजारमा सुनको माग बढाउँछ।सन् २०२४ को दोस्रो त्रैमासिकमा गरगहनाका लागि भएको सुनको माग ८८ प्रतिशतसम्म रहेको वर्ल्ड गोल्ड काउन्सिलको तथ्यांक छ।काउन्सिलका अनुसार सुनको माग धेरै हुनेमा ज्वेलरीले नै ठूलो हिस्सा ओगट्दै आएको छ। त्यसैगरी औद्योगिक क्षेत्रमा पनि सुनको वार्षिक माग बढेको छ। यो वर्षको दोस्रो त्रैमासिकसम्म यस्तो माग ११ प्रतिशतले बढेको छ।

यसको अर्थ ज्वेलरी र इलेक्ट्रोनिक्सजस्ता उपभोग्य सामानको माग बढिरहेको छ। यसका लागि सुनको माग बढ्दा मूल्य पनि बढिरहेको छ। 

लगानी वृद्धि

सुनको मागवृद्धिमा लगानी माग अर्को कारण हो। अन्तर्राष्ट्रिय बजारमा एक्सचेन्ज–ट्रेडेड फन्डहरू (ईटीएफ)बाट सुनको माग बढ्ने हुन्छ।यस्ता धितोपत्रहरूले सुन राखेर सेयर जारी गर्छन्। जसलाई लगानीकर्ताले सेयरका रुपमा किनबेच गरिरहेका हुन्छन्। सेप्टेम्बरमा मात्रै यस्तैखाले एसपीडीआर गोल्ड ट्रस्टले ८ सय ६३ टन सुन यसरी राखेको छ। 

आर्थिक अनिश्चितताको समयमा र आर्थिक मन्दीको अवस्थामा धेरै मानिसले सुनमा लगानी गर्छन्। किनकि सुनलाई सुरक्षित लगानीका रुपमा उनीहरूले लिने गर्छन्। जब ऋणपत्र, स्वपुँजी र घरजग्गाको कारोबारबाट आउने लगानी प्रतिफल कमजोर बन्छ, मानिसहरूले सुनमा लगानी बढाउँछन्। जसले माग बढ्दा स्वाभाविक रुपमा सुनको मूल्यलाई पनि बढाउने हुन्छ। 

त्यसैगरी सुनलाई हेजका रुपमा पनि प्रयोग गरिन्छ। खासगरी मुद्रा अवमूल्यन वा महंगीको समयमा यसरी सुनको प्रयोग हुने गर्छ। राजनीतिक अस्थिरताका बेला पनि सुनलाई सुरक्षित लगानीका रुपमा हेर्ने गरिन्छ। 

विश्वमा अहिले युद्ध चर्किरहेको छ। केही वर्षयता रुस-युक्रेन युद्ध चर्किरहेको समयमा मध्यपूर्वमा इजरायलले हमास तथा हिजबुल्लाहविरुद्ध प्यालेस्टाइन र लेबनानमा सैन्य कारबाही गरिरहेको छ। उता कतिपय देशमा राजनीतिक अस्थिरता समेत बढिरहेको छ। यसले पनि अहिले सुनको माग र लगानी बढाउन भूमिका खेलेको एजेन्सीहरूले उल्लेख गरेका छन्। 

धेरै उत्पादन 
विश्वमा हुने सुन उत्पादनले पनि यसको मूल्यमा प्रभाव पारिरहेको हुन्छ। किनकि माग र आपूर्ति उत्पादनसँग जोडिन्छ।  

चीन, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, रुस र पेरुजस्ता ठूला सुन उत्पादकहरू छन्। यिनीहरूबाट हुने सुन उत्पादनले मूल्यमा असर गरिरहेको हुन्छ। 

काउन्सिलका अनुसार सन् २०२० र २०२१ मा वार्षिक रुपमा विश्वमा ३००० मेट्रिक टन सुन उत्पादन भएको थियो। जुन २०१८ र ०१९ को तलनामा ३०० मेट्रिक टन कम हो। तर २०२२ र २०२३ मा भने सुन उत्पादन समेत बढेको छ।

केन्द्रीय बैंकहरूको सञ्चिति 
विश्वका केन्द्रीय बैंकहरूले कागजी पैसा र सुनलाई सञ्चय गरेर राख्ने गर्छन्। जब यी बैंकले मौद्रिक सञ्चितिको विविधीकरण गर्छन्। यस्तो बेला सुनको मूल्य पनि बढ्ने गर्छ। किनकि उनीहरूले पैसाको साटो सुन जम्मा गर्छन्। विश्वका धेरै देशले यस्तो सञ्चितिमा सुनलाई नै प्राथमिक रुपमा राख्दै आएका छन्। 

ब्लुमबर्गका अनुसार सन् १९७१ मा अमेरिकाले ‘गोल्ड स्ट्यान्डर्ड’ छाडेयता विश्वका केन्द्रीय बैंकहरूले सुन किन्दै आएका छन्। सन् २०१८ मा केन्द्रीय बैंकले ५० वर्षयताकै धेरै सुन किनेका थिए। तर २०२० मा भने केन्द्रीय बैंकहरूको सुन खरिद घटेको थियो।

फेरि २०२१ मा खरिद बढाउँदा २०२२ मा ५० वर्षे कीर्तिमान भंग भएको थियो। सन् २०२३ मा पनि केन्द्रीय बैंकहरूले सुन सञ्चितिलाई बढाएको वर्ल्ड गोल्ड काउन्सिलले उल्लेख गरेको छ।

सन् २०२२ मा टर्कीको केन्द्रीय बैंकले सबैभन्दा धेरै सुन किनेको थियो भने त्यसपछि उज्बेकिस्तान, भारत र कतार रहेका थिए। सन् २०२३ मा चिनियाँ केन्द्रीय बैंकले धेरै सुन किन्दा दोस्रो र तेस्रो धेरै किन्नेमा सिंगापुर र चेक रिपब्लिकका बैंक थिए। 

डलरको मूल्य 
अमेरिकी डलर र सुनको मूल्यबीच विपरीत सम्बन्ध हुने गर्छ। अर्थात् डलरको मूल्य बढ्दा सुनको मूल्य नियन्त्रित र कम हुने गर्छ। तर जब डलर कमजोर हुन्छ, सुनको मूल्य उच्च हुने गर्छ र माग पनि बढ्छ। किनकि डलर सस्तो हुँदा धेरै सुन किन्न सकिने हुन्छ।

फलतः सुनलाई प्रायः महंगीविरुद्ध हेज (सुरक्षित)का रुपमा लिइन्छ। महंगी भनेको वस्तुको मूल्यमा हुने वृद्धि हो। अतः डलर कमजोर हुँदा मूल्यहरू बढ्ने हुन्छ। जब महंगी उच्च हुँदै जान्छ सुनको मूल्य पनि बढ्दै जान्छ। एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित