युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सहमति
इटहरी: युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाइजिङ प्रालिबीच सहकार्यको सम्झौता भएको छ। उक्त सम्झौता मंगलबार नयन एड्भरटाइजिङ प्रालिको इटहरीस्थित कार्यालयमा सम्पन्न भएको हो। यस सहमतिले रोजगारी अभावका कारण युवाहरूलाई विदेश जानबाट रोक्न र स्वदेशमै रोजगार सृजना गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष मुनम रिजालले सक्रिय युवा उद्यमीहरूलाई सञ्चारमाध्यमको माध्यमबाट प्रोत्साहन र हौसला दिने योजना रहेको बताए। रिजालले भने, “देशको आर्थिक विकास र रोजगारीका लागि युवा उद्यमीलाई प्रोत्साहित गर्नु जरुरी छ। अहिलेका लागि युवालाई प्रेरित गर्न सञ्चारमाध्यम महत्त्वपूर्ण साधन हो।”
रिजालले थपे कि, सरकारले नीति निर्माण गरेर युवा उद्यमीलाई स्वदेशमै प्रगति गर्न सहज वातावरण बनाउनुका साथै सञ्चारमाध्यमको सहयोगमा दबाब सिर्जना गर्नुपर्ने आवश्यकता छ।
यस सम्झौताअनुसार, उद्योग परिसंघले युवा उद्यमीहरूका प्रेरणादायी संघर्ष र सफलताको कथाहरू नयन एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित "प्रदेश खबर डट कम" मार्फत प्रकाशित गर्नेछ। सम्झौतामा नयन एड्भरटाइजिङका अध्यक्ष तथा प्रदेश खबर डट कमका सम्पादक पवन अधिकारी र मञ्चका अध्यक्ष मुनम रिजालले हस्ताक्षर गरेका छन्।
अधिकारीले युवा उद्यमीहरूलाई सञ्चारमार्फत जोड्न पाएकोमा खुसी व्यक्त गर्दै, यो सम्झौता युवाहरूलाई देशमै नयाँ र रचनात्मक कार्य गर्न हौसला दिने महत्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया