दयाहाङले सके ‘अञ्जिला’ को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिज मिति तोकिने

इटहरी । अभिनेता दयाहाङ राईले फिल्म ‘अञ्जिला’को स्वराङ्कन (डबिङ) सकेका छन्। व्यस्त समय तालिकाबीच अभिनेता राईले फिल्मको डबिङ कार्य सम्पन्न गरेका हुन्।

‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। मिलन चाम्स निर्देशित यो फिल्म यो फिल्म आगामी फागुन २९ गते रिलिज हुँदैछ।

चाम्सका अनुसार चलचित्रको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलन मार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिनेछ।

चलचित्रमा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिनेछिन्। साथै, दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका अभिनय छ। निर्माता प्रेम कुमार श्रेष्ठले पनि फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन्। 

फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो। फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा देखाइनेछ। 

निर्देशक चाम्सका अनुसार यस चलचित्रले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ। उनका अनुसार यो चलचित्र एञ्जिलाको पूर्ण बायोपिक भने होइन, तर उनको जीवनका विभिन्न घटनाहरूमाथि आधारित भने छ।

सुदीप बरालले खिँचेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता छन्।

प्रतिक्रिया

सम्बन्धित