कांग्रेस–एमाले विमतिका विषय जबरजस्ती ढाकछोप गरे सरकार दुर्घटनामा पर्छ : महामन्त्री शर्मा
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विमतिका विषयहरूमा चुप लागेर बस्नका लागि कांग्रेस र एमालेको गठबन्धन नभएको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले दुई दलबीच विमतिका विषयमा थाती राखेर अघि बढ्न गठबन्धन नबनेको स्पष्ट पारे ।
उनले एमालेसँग भएका विमतिका विषयवस्तुलाई जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने बताए । ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेबीच भएका विमतिका विषय वस्तुहरूलाई हामीले तिलाञ्जली दियौं, जबरजस्ती छोप्न खोज्यौं भने दुर्घटना हुन्छ ।’
महामन्त्री शर्माले भने, ‘हामीले गर्ने के हो यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ, एमाले हामीसँग कैयौं कुरामा असहमत छ, राजनीतिमा हुन्छ नि त । नेकपा एमालेका सबै दृष्टिकोणसँग सहमत भयौं हामी भने, हाम्रो दृष्टिकोणसँग एमाले सहमत भयो भने त पार्टी एउटा हुने हो नि त । हाम्रो पार्टी, विचार, पृष्ठभूमी, संगठन, सोचाइ नै फरक हो नी त, पृष्ठभूमि नै फरक हो नि त ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महसुस होला भनेर कांग्रेस चुप लाग्ने र शेरबहादुर देउवालाई महसुस होला भनेर एमाले चुप लाग्नुको कुनै अर्थ नहुने बताएका छन् । उनले आफूहरूबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबी समेत गरे ।
प्रतिक्रिया