सुत्केरी ब्यथाले सिकिस्त सुनमायाको सेनाले गर्यो उद्धार
गोरखा । तीन दिनदेखिको सुत्केरी ब्यथाले सिकिस्त गोरखा चुमनुव्री गाउँपालिका–३ सल्लेरीकी ४० वर्षीया सुनमाया गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत गुरुङलाई काठमाडौंस्थित थापाथली प्रसुति गृह पठाइएको चुमनुव्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । ‘तीन दिनदेखि नै सुत्केरी ब्यथा लागेको रहेछ, हिजो (बिहीबार) फिलिमको हेल्थ पोष्टमा ल्याउनु भयो,’ उनले सुनाइन्, ‘बच्चाले पेटभित्र दिसा खाएको भनेर स्वास्थ्यकर्मीले भन्नुभयो, यहाँ बच्चा जन्माउन नसकेपछि काठमाडौँ पठाएका हौँ ।’
बिहीबार नै हेलिकप्टरबाट उद्धारको प्रयास भए पनि प्रतिकूल मौसमका कारण ढिलाइ भएपछि उनको शुक्रबार मात्रै उद्धार भएको हो । ‘हेलिकप्टर मगाउन हिजो देखि नै प्रक्रिया सुरु गरेका थियौँ, मौसमले हिजो हेलिकप्टर उड्न सकेन, मौसम खुलेपछि बल्ल शुक्रबार हेलिकप्टर आयो,’ उनले भनिन् । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौँ पठाइएको उपाध्यक्ष गुरुङले बताइन् ।
प्रतिक्रिया