माओवादी स्थायी समिति बैठक आज पनि,जनतातिर फर्किन कस्तो बन्दैछ रणनीति ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज (शनिबार) पनि जारी रहने भएको छ । बिहीबारदेखि सुरु भएको बैठक आज पनि बस्ने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने छन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बंगलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।
उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलबीच भएको सहमतिबारे जानकारी गराएका थिए । बैठकका लागि मुख्य गरी चार एजेण्डा प्रस्तुत भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक विकसित घटनाक्रमबारे ब्रिफिङ, वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र कार्यभार तथा विविध एजेण्डा तय भएको बताए । करिब नौं वर्षपछि प्रतिपक्ष भूमिकामा पुगेका माओवादीले समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा निर्णय लिनेछ । जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया