मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले हटायो ४२ हजार कर्मचारी
काठमाडौं । भारतको रिलायन्स इन्डस्ट्रिजले ४२ हजार कर्मचारीलाई कामबाट निकालेको छ । आर्थिक वर्ष सन् २०२४ मा इन्डस्ट्रिजले कुल कर्मचारी संख्याको ११ प्रतिशतलाई जागिरबाट हटाएको हो । एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको संस्था रिलायन्सले खर्च व्यवस्थापनका लागि कर्मचारी संख्या घटाउनु परेको बताएको छ ।
विवाह कार्यक्रममा अर्बौ रुपैयाँ खर्चन सक्ने अम्बानी परिवारले ठूलो संख्यामा कर्मचारीको रोजिरोटी खोसेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कर्मचारी कटौतीको खबर बाहिरिएपछि भारतीय नागरिकहरूले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् । मुकेशले विशाल खर्च गरेर कान्छा छोरा अनन्त अम्बानीको महिनौं लामो बिहे गराए बापतको नतिजा भन्दै कतिपयले व्यंग्य गरेका छन् ।
भारतको सबैभन्दा ठूलो रिटेल सञ्जाल र टेलिकम नेटवर्क सञ्चालन गर्ने रिलायन्सले नयाँ नियुक्त संख्या समेत घटाएको छ । कम्पनीको वार्षिक प्रतिवेदनअनुसार पछिल्लो वर्ष एक लाख ७१ हजार नयाँ कर्मचारी थप गरिएका छन् । अघिल्लो वर्ष २ लाख ६३ हजार कर्मचारी नियुक्त गरिएको थियो । करिब उक लाख ४३ हजार कर्मचारीले स्वेच्छिक अवकास लिएका थिए ।
रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको रिलायन्स रिटेलले गत वर्ष एक सय अर्ब डलरको कूल मूल्याङ्कनमा १.८५ अर्ब डलर लगानी प्राप्त गरेको थियो । वार्षिक आयवृद्धि दर घट्दै गएको वित्तीय प्रतिवेदनमा उल्लेख छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको आय ७ प्रतिशतले बढेको थियो । अघिल्लो त्रैमासको तुलनामा १५ देखि २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिए पनि त्यसअनुरुप हुन नसकेको बताइएको छ ।
रिलायन्स रिटेलले आव २०२३ मा प्रतित्रैमास औसत ७४० वटा नयाँ स्टोर सञ्चालनमा ल्याइरहँदा यस पटक पहिलो त्रैमासमा जम्मा ८२ वटा नयाँ स्टोर खोलेको छ । अनन्त र राधिका मर्चेन्टको बिहेमा ५ हजार करोड भारतीय रुपैयाँ खर्च भएको बताइन्छ । बिहेमा गायक जस्टिन बिबरको प्रस्तुतिका लागि मात्रै ८३ करोड भारु खर्च गरिएको समाचार बाहिरिएका थिए । कम्पनीले खर्च कटौतीका लागि ४२ हजार कर्मचारी निष्कासन गर्नु विडम्बना भएको टिप्पणी भइरहेका छन् ।
प्रतिक्रिया