हिराकुमारीको ज्यान लिने बाघ खोज्न हात्ती परिचालन

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– २ कमलशाही टोलकी २६ वर्षीया हिराकुमारी शाह (साहु)को ज्यान लिने हिंस्रक बाघ खोज्न हात्ती परिचालन गरिएको छ । बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्रमणबाट दोधाराचाँदनी नगरपालिका– २ चाँदनी कमलशाही टोलकी हिराकुमारीको मृत्यु भएको थियो । उनको ज्यान लिने बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट तीन हात्ती परिचालन गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी मनोजकुमार ऐरले बाघ खोज्नका लागि तीन हात्ती उखुबारीमा परिचालन गरिएको जानकारी दिए । ऐरले मानिसमाथि आक्रमण गरेको बाघ उखुबारीमै रहेकाले हात्ती परिचालन गरिएको बताए । ‘हामीले बाघ नियन्त्रण गर्नका लागि डाग हानेर बेहोस बनाउन हात्तीसँगै चिकित्सकको टोली खटाएका छौँ,’ उनले भने, ‘बेहोस भएपछि बाघलाई नियन्त्रण लिन्छौं ।’

निकुञ्जमा वन्यजन्तु नियन्त्रण, उद्धारका लागि जनशक्ति र स्रोत भए पनि औषधि नहुँदा बर्दियाबाट मगाइएको बताएका छन् । ‘ठूला वन्यजन्तु बेहोस पार्नका लागि जताततै औषधि पाइँदैन,’ उनले भने, ‘हामीसँग पनि छैन, अहिले किटामनी र मेडिटोडिडिन औषधि बर्दिया राष्ट्रिय निकुञ्जबाट मगाएका छौं ।’ गत वर्ष बेलौरी नगरपालिका– ८ पचुईकी गंगा चन्दलाई घाँस काट्न उखुबारीमा गएका वेला बाघले आक्रमण गरेपछि बाघ खोज्न हात्ती परिचालन गरिएको थियो ।

आफ्नै धानबारीमा घाँस काट्ने वेला उखुबारीमा लुकेर बसेको बाघले हिराकुमारीलाई आक्रमण गरेको थियो । मृतक हिराकी जेठानी मीना साहुले हेर्दाहेर्दै बाघले हिरालाई घाँटीमा समातेर उखुबारीमा लगेर मारेको जानकारी दिएकी छन् । ‘दुई तीन दिनदेखि गाउँमा बाघ आएको हल्ला थियो, कोहीले त देखेका रहेछन्, हामीले हल्ला मात्रै सुन्यौँ,’ उनले भनिन् । उक्त बाघ भारतीय पिलिभित टाइगर रिजर्भ जंगलबाट नेपाल आएको अनुमान गरिएको छ । बाघले ज्यान लिएको महिलाको परिवारलाई दोधाराचाँदनी नगरपालिकाले किरिया खर्चबापत ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित