प्रिमियरको सप्ताहव्यापी विद्यार्थी अभिमुखीकरण कार्यक्रम

इटहरी / इटहरीमा रहेको प्रिमियर ग्लोबल स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि एक हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। २०८१ सालको साउन ७ देखि ११ गतेसम्म सञ्चालन भएको यो कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालय जीवनको नयाँ चरणमा स्वागत गर्न र उनीहरूको भावी यात्रा सफल बनाउन सहयोग पुर्‍याएको छ । यस अभिमुखीकरण सप्ताहमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गरिएका थिए। पहिलो दिन स्वागत कार्यक्रम सम्पन्न गरियो, जसमा विद्यार्थीहरूलाई विद्यालय र शिक्षकहरूसँग परिचय गराइएको थियो।

त्यसपछि, आर्ट अफ लिभिङका योग प्रशिक्षक वसन्त घिमिरेले योग र ध्यान प्रशिक्षण दिए। यो सत्रले विद्यार्थीहरूलाई तनाव व्यवस्थापन र मानसिक स्वास्थ्यमा सुधार गर्न मद्दत पुर्‍याएको बताइएको छ। सफ्ट स्किल विकास तालिमका लागि प्रशिक्षक सी. एम. बस्नेतले विद्यार्थीहरूलाई आत्मविश्वास, सञ्चारकला, र नेतृत्व क्षमता विकास गर्न प्रशिक्षण दिए। यसै गरी, सोल्टी होटल काठमाडौँका लर्निङ एण्ड डेभलपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठले हस्पिटालिटी क्षेत्रमा रहेका अवसर र तिनीहरूको तयारीबारे आफ्नो अनुभव साझा गरे।

कार्यक्रमको अन्तिम दिन, विद्यार्थीहरूलाई सोल्टी होटल इटहरीको भ्रमण गराइयो। यस क्रममा उनीहरूले उद्योगमा हुने कामको प्रत्यक्ष अनुभव प्राप्त गरे। यो अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक यात्रा सुरु गर्न मद्दत गर्नुका साथै, उनीहरूको लक्ष निर्धारण गर्न, सहपाठीहरूसँग घुलमिल हुन, र सकारात्मक सोचको विकास गर्न प्रोत्साहित गर्‍यो। प्रिमियर ग्लोबल स्कुलले हरेक वर्ष यस किसिमका कार्यक्रमहरू आयोजना गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान दिइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित