इटहरीकाे रिलायन्स सहित ६ वटा उद्योगमा बिजुली जोडिने , बक्यौता रकम बुझाउन उद्याेगिहरूलाइ तीन महिने अल्टिमेटम

इटहरी । नेपाल विद्युत् प्राधिकरणले काटिएका ६ उद्योगको विद्युतको लाइन जोड्ने भएको छ । प्राधिकरणले ससर्त काटिएका उद्योगको लाइन जोड्ने भएको हो । डेडिकेटेड तथा ट्रंक लाइनका बक्यौतामा प्राधिकरणले लाइन काटेको हो । काटिएका उद्योगको लाइन मंगलबार साँझबाट क्रमशः जोडिने भनिएको छ।

रिलायन्स स्पीनीङ, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको लाइन काटिएको थियो ।  प्राधिकरण सञ्चालक समिति बैठकको निर्णयका सम्बन्धमा कार्यकारी निर्देशक कुलमान घिसिङले माइन्युट उठाएका थिए । प्राधिकरण सञ्चालक समिति सचिव समेत रहेका घिसिङले बक्यौता रहेका उद्योगीहरूलाई तीन महिनाभित्र महसुल उठाउने म्याद पनि दिएका छन् । 

उक्त माइन्युटमा लेखिएको छ, ‘तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुनः बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगीहरूको विद्युत् लाइन जोडिने छ ।’  

प्राधिकरणले गत असार ११ मा ६१ वटा उद्योगलाई १५ दिनभित्र बक्यौता तिर्न भन्दै पत्र पठाएको थियो । उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ हो । तर विद्युत्को बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको थियो । असार २५ मा उक्त समय सकिएकाले प्राधिकरणले बिजुली काट्न सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित