रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता, पारिश्रमिक कति ?

एजेन्सी । फ्रान्सका सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन् । गत महिना नै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो ।

यसअघि उनले आजै मेडिकल समेत गरेका थिए । रियल म्याड्रिडले आजै एम्बाप्पेलाई आफ्नो स्टेडियममा फ्यानहरु समक्ष प्रस्तुत गरेको छ । २५ वर्षीय एम्बाप्पे फ्री–ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् ।

पिएसजीमा उनले करिब २५ मिलियन युरो वार्षिक पारिश्रमिक थियो भने रियल म्याड्रिडले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार रियल म्याड्रिडले एम्बाप्पेलाई फ्रि–ट्रान्सफरमा साइन गरे पनि उनलाई करिब ११० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ । रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात वर्षदेखि भित्र्याउने प्रयासमा रहेको थियो । २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित