१६ महिनामै फुट्यो वैद्यको पार्टी, धर्मेन्द्र समूहद्वारा एकता असफल भएको घोषणा
इटहरी ।मोहन वैद्य किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी एकता भएको दुई वर्षमै फेरि फुटेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले आज (मंगलबार) वक्तव्य जारी गर्दै पार्टी फुटेको घोषणा गरेका छन् ।
माओवादी फुटेर मोहन वैद्य हुँदै विप्लव नेतृत्वको माओवादीमा पुगेका बाँस्तोलाले आफ्नै नेतृत्वमा नेकपा जनमत गठन गरेका थिए । २०७९ साउन २० गते उनी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच एकता भएको थियो ।
बाँस्तोलाले वैद्य नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने निष्कर्ष निकालेका छन् । वैज्ञानिक समाजवादकै कार्यदिशा मानेर जाने निर्णय गरे पनि बहसको प्रक्रियालाई अनुसन्धानमूलक र रुपान्तरणकारी बनाउने प्रयासमा अवरोध गरिएको उनले आरोप लगाएका छन् ।
पछिल्लो केन्द्रीय समिति बैठकपछि १९ असारमा वक्तव्य निकाल्ने क्रममा वैद्यले माओवाद र माओ विचारधारालाई पथ प्रदर्शक सिद्धान्त मान्दै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशा अवलम्बन गरेको दाबी गर्दै बहसलाई निषेध गरेको उनले वक्तव्यमा लेखेका छन् ।
प्रतिक्रिया