यस वर्ष कञ्चनपुरमा भएको वर्षा नेपालको इतिहासमै ठूलो : मौसम विभाग

कञ्चनपुर । यस वर्ष नेपालको इतिहासमै ठूलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कञ्चनपुरका दोधारा, हनुमाननगर र सुन्दरपुरमा यही असार २४ गते बिहान मापन गरिएको वर्षाले देशमा अहिलेसम्म भएका वर्षाको रेकर्ड तोडेको हो। 

‘मिति २०८१/०३/२४ गते बिहान ८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्यांकअनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मि.मि. (मिलिमिटर), हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको थियो’, विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,।

‘मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो। यसअघि मिति २०७४/०४/२९ गते (सन् २०१७ अगस्ट १३० हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भूसंरक्षण विभागको तथ्यांकअनुसार मिति २०५०/०४/०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ वर्षा केन्द्रमा ५४०० मि.मि. वर्षा मापन गरिएको थियो।’

किन भयो त यति ठूलो वर्षा? 
मौसम विभागका अनुसार वायुमण्डलीय तथ्यांक, भूउपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट उक्त दिन मनसुन न्यूनचापीय रेखा सरदर स्थानमा रहेको भए तापनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकास भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रही अरब सागर तथा बंगालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा सो स्थानमा समिश्रण भई अति भारी वर्षा भएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित