इटहरीमा एक महिने हेयर कटिङ तालिमको समापन तथा प्रमाणपत्र वितरण
इटहरी । सुनसरीको इटहरीमा एक महिने हेयर कटिङ तालिमको समापन गरिएको छ । घरेलु तथा साना उद्योग इटहरीको आयोजना र इटहरी उपमहानगर वडा नं ६ को सहकार्यमा तालिम समापन भएको हो । तालिममा कपाल काट्ने सम्बन्धी बेसिक तालिम प्रयोग हुने औजार चलाउने विधि यसको महत्त्व र संरक्षण बारे ज्ञान प्रदान गराइएको थियो । गत वैशाख अन्तिम साता देखि ज्येष्ठ अन्तिम साता सम्म सञ्चालन भएको हेयर कटिङ तालिममा २० जनाले सहभागिता जनाएका थिए । तालिममा सहभागीहरूलाई सैलुनमा प्रयोग हुने सामग्री र कपाल काट्ने बेसिक तालिम प्रदान गरिएको प्रशिक्षक टिटो हेयर कटिङ सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक शम्भु ठाकुरले बताए ।
कार्यक्रममा सभापति एवम् घरेलु तथा साना उद्योगका अधिकृत शङ्कर आचार्यले सानो लगानीबाट पनि धेरै मुनाफा लिन सकिन्छ भन्ने उदाहरण पछिल्लो समय सैलुनहरूमा कार्यरत मजदुरहरूले देखाइरहेको बताए । उद्योगले यस्तै साना क्षेत्रमा लगानी गरी थोरै भए पनि युवाहरूलाई प्रोत्साहन गर्ने कार्य अन्तरगत यो पटक हेयर कटिङ सम्बन्धी एक महिने तालिमको आयोजना गराइएको बताए ।
कार्यक्रमका प्रमुख अतिथिले इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले पछिल्लो समय कामकाे खोजीमा भाैतारीदै विदेश पलायन हुने युवाहरूको सङ्ख्या दैनिक बढिरहेकोले त्यस्ता युवाहरूलाई स्वाेदेशमै स्वाेराेजगार बनाउन यस्ता साना तालिमहरूले पनि ठुलो महत्त्व राख्ने बताए । सुरुमा सिप सिक्ने र त्यसलाई कार्यान्वयन र सदुपयोग गरे मात्रै पनि युवाहरू आफै आत्मनिर्भर बन्न सक्ने वडाध्यक्ष पोख्रेलको भनाइ थियो । कार्यक्रममा तालिम समापन सँगै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
प्रतिक्रिया