उत्कृष्ट गन्तव्यस्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै
सोलुखुम्बु । सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवगमन सहज बनेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै रु एक करोड २५ लाख रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रु २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणमा रु २५ लाख, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा रु २५ लाख, सगरमाथा पर्यटन पदमार्ग निर्माण कार्यको निरन्तरतामा रु २५ लाख र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माणमा रु २५ लाखको विनियोजन गरिएको छ ।
रकम विनियोजन भएअनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । पर्यटकीय क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणले यस क्षेत्रमा पर्यटनको आवगमनलाई थप सहज बनाउने उनले बताए ।
सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एक मात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले निकै महत्व साथ हेरेका छन् । पहिलो सगरमाथा आरोही सर एड्मण्ड हिल्लारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणमा जाने क्रममा पनि यिनै पदमार्गको प्रयोग गरिएकाले यस क्षेत्रको पूर्वाधार निर्माणको महत्व अझ बढेको नाम्चेका पर्यटन तथा होटल व्यवसायी लामाकाजी शेर्पाले बताए ।
एकातिर भौगोलिक विकटता अर्कोतर्फ यस क्षेत्रका पदमार्ग जीर्ण र साँघुरा भएका कारण पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । लार्चा दोभानदेखि नाम्चे बजार जाने पदमार्ग पनि निकै जीर्ण साँघुरो थियो । पदमार्गको सडकखण्ड साँघुरा भएकाले पर्यटक, पर्यटकको सामग्री लिएर गएका भरिया र खच्चड लडेर घाइेत तथा मृत्यु हुने गरेको स्थानीय टसी शेर्पा बताउँछन् । तर अहिले प्रदेश सरकारको लगानीमा उक्त पदमार्गको पूर्वाधार निर्माणसँगै फराकिलो बनाउने काम भइरहेको छ । यसअघि करिब चार फिट चौडाइ भएको उक्त पदमार्ग सडक खण्ड अहिले करिब सात फिट फराकिलो सहित सोलिङ तथा स्टेप राख्ने काम भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउँछन् ।
यस्तै गोक्यो पर्यटकीय स्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणको काम पनि प्रदेश सरकारले विनियोजन गरेको रु २५ लाखको लगानीमा धमाधम भइरहेको छ । यसअघि पर्यटन सिजन चलिरहेकाले पूर्वाधार निर्माणको काम गर्दा पर्यटकको आवगमनमा असर पर्ने भएकाले सिजन कम भएसँगै काम सुरु गरेको र उक्त पदमार्गको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया