विश्वकप क्रिकेट : नेपालले साेमबार बिहान बंगलादेशसँग खेल्दै : इतिहास रच्ने अर्काे अवसर

इटहरी । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान आईसीसीको पूर्णकालीन राष्ट्र बंगलादेशको सामना गर्दैछ । दक्षिण अफ्रिकासँग एक रनको पीडादायी हार व्यहोरेर एक खेल अगावै जारी विश्वकपको पहिलो चरणबाटै बाहिरिइसकेको नेपाल टेष्ट राष्ट्र हराएर इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ भने बंगलादेश दोस्रो चरणमा प्रवेश गर्न जित्नैपर्ने दबाबका बीच मैदान प्रवेश गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल बिहान ५ः१५ बजे सुरु हुनेछ । उक्त खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिने छ । १८ हजार दर्शक क्षमताको यो स्टेडियम क्यारेबियन क्षेत्रको निकै पुरानो स्टेडियम हो । तर, नेपाली खेलाडीहरूले दक्षिण अफ्रिकासँग भोगेको एक रनको पराजयको पीडा आलै छ । यही हारको पीडाले होला उनीहरु आइतबारको नियमित अभ्यासमा सहभागी नभएको जानकारी प्राप्त भएको छ । मंगलबार बिहान बंगलादेशविरुद्ध जित निकाल्दै इतिहास रच्ने एक अर्को अवसरको सदुपयोग गर्न समेत उनीहरुलाई त्यो पीडामा रुमल्लिइरहने समय भने छैन ।

शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । त्यसअघि आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो । घर फर्किनुअघि टी–२० विश्वकपको सुखद अन्त्य गर्न चाहेको र यो प्रतिष्ठाको खेल हुने कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले खेल सुरु हुनुअघि गरिएको पत्रकार सम्मेलनमा धारणा राखेका थिए ।

आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । बंगलादेशसँग १० वर्षअघिको हारको बद्ला लिने अवसरका नेपाली क्रिकेट समर्थकहरुले लिइरहेका छन् ।

नेपालको सम्भावित प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।

प्रतिक्रिया

सम्बन्धित